
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रदेखि टोलसम्म पार्टीले आयोजना गर्ने कार्यक्रममा आसन ग्रहण र भाषणलाई छरितो बनाउने भएको छ । त्यस्तै वरपिपल, समी वा यस्तै बिरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गर्ने पनि भएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउने र बोल्न दिएर समय खर्च भएको भन्दै उक्त योजना ल्याउन लागेको बताए ।
राष्ट्रिय जनजागरण अभियान वैशाख ११ गतेदेखि सुरु हुन्छ, प्रवक्ता शर्माले भने, हामीले आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू गर्छै ।
कांग्रेसले अब कार्यक्रममा कार्यक्रमका सभापति र प्रमुख वक्ता र सामूहिक आसनग्रहण गराउनेछ।
कांग्रेसले लोकतन्त्र दिवसबाट ‘पहाड, तराई–मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान सुरु गर्नेछ । वैशाख ११ देखी पहिलो चरणमा राष्ट्रिय जनजागरण अभियान ७७ जिल्लामा एक महिना चलाउने छ ।
सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभरि तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा वैशाख ११ गते सुरु भई जेठ ११ गतेसम्म एक महिना सञ्चालन हुनेछ ।
यसैगरी, दोस्रो चरणमा भदौ २४ गते बीपी जयन्तीका दिन सुरु गरेर असोज ७ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । तेस्रो चरणमा पुस ७ गते सुरु गरी पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
राष्ट्रिय जागरण अभियानमा पहिलो चरणमा ७७ जिल्लामा, दोस्रो चरणमा ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा र अन्तिममा ७५३ वटै स्थानीय तहमा कार्यक्रम गरिने जानकारी काँग्रेसले दिएको छ ।









