५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरियो गाउँको मुहार



अ+ अ-

गलेश्वर । करीव एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण भेगमा खरले छाएका घर झुरुम्म देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई÷तीन दिन लगाएर पैदल यात्रा गर्नुपर्दथ्यो ।

सञ्चार र स्वास्थ्य त परको कुरा, एक गाग्री पानी लिन पनि एकाबिहानै उठेर एक–डेढ घण्टा गएर घण्टौं लाममा बस्नु पर्दथ्यो । अहिले भने अब ती सबै कुरा विगतका तीता स्मृतिमा परिणत भएका छन् । म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ ।

अब गाउँमा खरले छाएका घर देख्नै मुश्किल छ । गाउँगाउँमा पनि आर सी सी ढलान गरेर पक्की घर निर्माण गर्ने होड चलेको छ । पाइला अड्याउनै मुश्किल हुने अक्करे भिरलाई फोडेर सररर मोटर गुडेको छ । घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्य चौकीसमेत पायक पर्ने ठाउँमै बनेका छन् । “एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनै गरेका थिएनौं,” मालिका गाउँपालिका वडा नं ७ बिमका ७४ वर्षीय पलवीर जुग्जालीले भन्नुभयो – “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौं, अहिले पो थाहा भयो । विकास भनेको त सुविधा पो रहेछ त ।”
गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । अध्यक्ष रोकाले भन्नुभयो – “सुविधाका हिसाबले अब गाउँ र शहरमा खासै फरक रहेन । एक दशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन् ।”

यहाँ १ लाख १४ हजार जनसङ्ख्या रहेको छ र २ हजार २९७ वर्ग मिटरमा भूभागमा यो जिल्ला फैलिएको छ । म्याग्दी जिल्लाका साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा र मुनाबाहेक अन्य सबै ठाउँलाई मोटरबाटोले छोएको छ ।
स्थानीय तहलाई अधिकार प्रत्याभूत गरिएपछि जिल्लाभित्र विकासका लागि पालिका–पालिकाबीचमै प्रतिष्पर्धा चलेकाले पनि ग्रामीण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधारहरु पुगेका छन् । विकासका पूर्वाधारहरुसँगै जनताको आयआर्जनमा समेत वृद्धि भएपछि ग्रामीण जीवन शैलीमा पनि उल्लेख्य परिवर्तनहरु देखिन थालेका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने गरेको म्याग्दीले अब भने आफ्नो परिचय फेरेको छ । यो उद्यम, कृषि, पर्यटन र जलविद्युत्को अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ । लाहुर गएकाहरु पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । बेनी नगरपालिका ३ भकिम्लीका अध्यक्ष पद्म पुन भन्नुहुन्छ – “विकासका पूर्वाधारहरु पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन् । कतिपय युवा त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायिक कृषि र पशुपालनतर्फ लागेका छन् ।”

प्रविधि र पूर्वाधारले ग्रामीण जनताको आर्थिक अवस्थामा मात्रै परिवर्तन आएको छैन, उनीहरुको जीवनशैली, व्यवहार र खानपानमा समेत परिवर्तन ल्याइदिएको छ । सर्वसाधारणका घरका छानामा मात्र परिवर्तन आएको छैन, जीवनशैली पनि बदलिँदै गएको छ । हात हातमा नयाँ नयाँ मोडलका मोबाइल, काखकाखमा ल्यापटप र घरका भित्तामा ३५–४० इञ्चका महङ्गा टेलिभिजन राखिएका छन् । भैंसी बाँध्ने गोठ अब मोटरसाइकल लगायतका सवारीसाधन राख्ने ठाउँमा परिणत भएका छन् । केबुल नपुगेको ठाउँमा डिस होम र विद्युत् नपुगेको ठाउँमा सौर्य उपकरण राखिएको छ ।

गाउँमा खेत जोत्न हलगोरु पाल्न छोडेको पनि धेरै भयो । खेत जोत्न मिनिटेलर हलो वा ट्याक्टरको प्रयोग हुन थालेको छ । गाउँलेहरु आगो बालेर खाना पकाउन पनि छोड्दै गएका छन् । घरघरमा ग्यास सिलिण्डरको प्रयोग बढेको छ । वनमा घाँस दाउरा गर्नेहरु एकदमै कम देखिन थालेका र एक दशक अघिका नाङ्गा डाँडापाखा अहिले घना जङ्गलमा परिणत भएका मालिका गाउँपालिका वडा नं ५ देवीस्थानका वडाध्यक्ष पिपला बुढाले बताउनुभयो ।

मगर बहुल म्याग्दीका ग्रामीण भेगका जनताको खानपानमा समेत परिवर्तन आएको छ । उच्च हिमाली क्षेत्रका गाउँहरुका बारीमा कोदो, मकै र फापर प्रशस्तै उत्पादन हुन्छ तर, ती गाउँका बासिन्दाहरुले कोदो, मकै र फापर बेचेर चामल खरिद गर्ने गर्छन् ।

“हिजोआज गाउँ मै सडक आएको छ,” मालिका गाउँपालिका ७ बिमकी देउसरा जुग्जालीले भन्नुभयो – “बारीमा फलेको कोदो, मकै, फापर र जौ किन्न गाउँ मै आउँछन् ।” जिल्लाको पहाडी क्षेत्रको पाखो तथा भिरालो जग्गामा उत्पादन हुने कोदो, मकै र फापर प्रायः बिक्री गर्ने र चामल किनेर खाने चलन बढेको छ । अधिकाँश वृद्धवृद्धाको अनुभवमा गाउँमा धेरै परिवर्तन आएको छ । उनीहरुका अनुसार गाउँका पुराना चलन हराउँदै गएका छन् ।

गाउँमै सडक पुगेको छ । गाउँ र शहरको दूरी छोटो भएको छ । शहरमा पाइने हरेक कुरा गाउँमै पाइन्छ । “केही वर्ष अघिसम्म गाउँमा मुखियाको घरमा रेडियो सुन्ने चलन थियो,”’ बिमका ८३ वर्षिय ढकवहादुर जुग्जालीले भन्नुभयो – “अहिले घरमै टेलिभिजन हेरिन्छ । देश विदेशमा कहाँ के भयो सबै कुरा ओच्छ्यानमा सुती सुती थाहा पाइने भएछ ।”