काठमाडौं । बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारीलाई पुत्र लाभ भएको छ । डचेस अफ ससेक्स मेगनले सोमबार बिहान ५ बजेर २६ मिनेटमा छोरालाई जन्म दिएको बकिङघम दरबारले जनाएको हो ।
यद्यपि उनी कहाँ सुत्केरी भएकी हुन् भन्नेबारे भने केही खुलाइएको छैन । नवजात शिशुको तौल ३।२६ किलो रहेको र आमा तथा शिशु दुबै स्वस्थ रहेको बताइएको छ ।
मेगन गर्भवती भएको ४१ औं सातामा सुत्केरी भएकी हुन् । मेगनले छोरालाई जन्म दिएपछि राजकुमार ह्यारीले परिवारमा नयाँ सदस्यको आगमनपछि आफू हर्षित बनेको प्रतिक्रिया दिएका छन् । छोराको जन्म भएपनि उसको नाम राख्ने विषयमा ह्यारीले सोचिरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
राजकुमार ह्यारीले छोरालाई जन्मदिएको कुरा बेलायती महारानी एलिजावेथ, पति राजकुमार फिलिप तथा राजपरिवारका अन्य सदस्यलाई जानकारी गराइएको र सम्पूर्ण बेलायती राजपरिवार यो खबर सुनेर हर्षित बनेको बकिंघम दरबारले जनाएको छ । हालै जन्मेका शिशु बेलायती राजगद्दीको उत्तराधिकारीको रोल क्रममा सातौं नम्बरमा आउने छन् ।