१४ असार २०८३, आईतवार
,
Latest
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र कम्युनिष्ट आन्दोलनलाई समयसापेक्ष र जनमुखी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकूद छाडेर व्यावसायिक मौरीपालनमा



अ+ अ-

कञ्चनपुर । इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही सावित गरेका छन् । झण्डै एक दशकसम्म कुस्ती खेलमा प्रतिष्पर्धा गरेका कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वैजनाथ टोलका नरेन्द्र खत्री पछिल्लो समय यहाँका सफल मौरीपालन व्यवसायी बनेका छन् । चार वर्षदेखि घरमै विदेशी जातको मौरी भित्र्याएर व्यावसायिक मौरीपालन थालेका ४३ वर्षीय खत्री खेल छाडेर कृषि व्यवसायमा आउँदा कुनै पछुतो नभएको बताउँछन् ।

‘देशका लागि खेलियो’, उनले भने, ‘कृषि व्यवसायबाट पनि देशलाई केही दिन सकिन्छ भनेर मौरीपालनमा लागेको हुँ ।’ खत्रीले अहिले ८० घार मौरी पालेका छन् । ‘मौरीपालनको आफ्नै तौरतरिका छन्, सोचेजस्तो सजिलो व्यवसाय भने होइन रहेछ’, खत्रीले भने । विसं २०५४ देखि २०६५ सम्म लगातार कुस्तीको राष्ट्रिय प्रतियोगिता खेलिसक्नुभएका खत्रीले २०६५ सालमा एक वर्ष करारमा कुस्ती प्रशिक्षक भएर खलाडी उत्पादनसमेत गरेका थिए ।

खेल प्रतिष्पर्धामा रहँदासम्म उनले राष्ट्रिय स्तरसम्म पदकविहीन हुनुपरेन । वि.सं २०४८ देखि खेलकूदमा सक्रिय खत्रीले २०७१ सालदेखि घरमा पाँच घार मौरी भित्र्याएर मौरीपालन शुरु गरेका थिए । ‘स्मृतिका गफले मात्रै देश अघि बढ्न सक्दैन’, उनले भने, ‘युवा पुस्तालाई कृषि व्यवसायमा लगाउन सक्नुपर्छ ।’

मौरीपालनसँगै मौरी उत्पादनमा समेत जोड दिएका खत्रीले रु ९० हजारभन्दा बढीमा मौरीका घारसमेत बिक्री गरेका छन् । ‘सानैदेखि मौरीप्रतिको मोहले यसतर्फ लागे’, उनले भने, ‘अहिले मौरीमालनमै दैनिकी चलिरहेको छ ।’ ‘मेलिफेरा’ जातको युरोपबाट भित्र्याएको मौरी खत्रीले पालेका छन् । मौरीपालनसम्बन्धी विभिन्न तालीमसमेत लिइसकेका खत्रीले मौरीपालनबारे आधुनिक र प्रविधिबारे कृषकलाई जानकारी न्यून भएको बताए ।

‘मौरीपालनमा लाग्ने कृषकलाई राज्यले प्रोत्साहन गरे यो फष्टाउन सक्छ ।’ उनले भने, ‘मह बिक्री गर्न बजारको समस्या छैन ।’ खत्रीले वार्षिक चार क्विन्टलदेखि पाँच क्विन्टलसम्म मह उत्पादन गरिरहेका छन् । ‘घरबाटै प्रतिकिलो रु ८०० का दरले मह धमाधम बिक्री हुँदैछ’, उनले भने, ‘मागअनुसारको मह पुर्याउन सकिएको छैन ।’

असोजदेखि जेठसम्म मह बनाउने उपयुक्त समय हो । मौरी चराउन जिल्लाभर लैजाने गरिएको छ । ‘अहिले केही घार मौरी जामुनको रुख भएको पिपरिया क्षेत्रमा लगेर राखेको छु’, खत्रीले भने, ‘चिउरीको मह सङ्कलन गर्न मौरीसहितको घार जोगबुढा लैजाने योजना छ ।’ खत्रीले मौरी चराउन जामुन, चिउरी, लिचीको बगैँचा, सिमलको रुख भएको चुरे क्षेत्रमा लैजाने गर्छन् ।

‘चराउन लैजाँदा बेलुकी मौरी प्याक गरेर राति नै गाडीमा लगिसक्नुपर्छ ।’ उनले भने, ‘मौरी घार भएको ठाउँबाट पाँच किलोमिटर टाढासम्म चरेर फर्किन्छ ।’ एउटा घारमा ३० हजारदेखि ९० हजार मौरीसम्म हुने उनी बताउँछन् । उनले स्थानीय तललगायत सम्बन्धित सरकारी निकायबाट मौरीपालन गर्न अनुदान पाएको बताए ।

‘गत वर्ष भीमदत्तनगरपालिकाले मौरीपालनतफर्ल प्रोत्साहन गर्न रु चार लाख ५० हजार दिएको थियो’, खत्रीले भने, ‘त्यसअघि जिल्ला कृषि कार्यालयबाट पनि रु ३० हजार अनुदान पाएको थिए ।’ मह विभिन्न औषधिका रुपमा प्रयोग हुन्छ । यो मानव स्वास्थ्यका लागि निकै फाइदाजनक छ । ‘मौरीको विष पनि हितकारी नै हुन्छ’, उनले भने, ‘वातावरणीय प्रर्यावरणमा पनि मौरीको भूमिका अहम् रहन्छ ।’ रु दश लाखको लागतमा मौरीपालन थालेका खत्रीले मौरीपालनबाट खासै नोक्सानी नभएको बताए ।