काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन नसकिने स्पष्ट पारेका छन् ।
बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताए । उनले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताए ।
सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको थियो । तर अब त्यसरी पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने मन्त्री पोखरेलले बताए ।
‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै उहाँहरुलाई शिक्षण पेशामा राख्न सक्ने अवस्था छैन’, मन्त्री पोखरेलले भने, ‘स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागि नभएकाहरुले भनेअनुसार पुनः परीक्षा गर्न सकिँदैन । उहाँहरुलाई सम्मानजनक बिदाइ गर्नें हो ।’
उनले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित विदाई गर्न सरकार लागि परेको पनि स्पष्ट पारे । बैठकमा समितिका सदस्यहरुले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए ।