• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

पञ्जाबमा आपको सरकार बन्ने



भारतमा  उत्तर प्रदेश, पञ्जाबलगायत पाँच राज्यमा भएको विधानसभा चुनावको नतिजा आउँदैछ ।

प्रारम्भिक नतिजाले भाजपा एक पटक फेरि यूपी, उत्तराखण्ड, गोवा र मणिपुरमा सरकार बनाउन गइरहेको देखिन्छ । 

पञ्जाबमा आम आदमी पार्टी (आप)को सरकार बन्ने करिब निश्चित भएको छ । पञ्जाबमा आम आदमी पार्टीले व्यापक अग्रता लिएको छ । त्यहाँ सो पार्टीले ९० सिटमा अग्रता लिएको छ । 

कुल ११७ सिटका लागि भएको मतदानमा आम आदमी पार्टीले करिब दुई तिहाइ सिट ल्याउने देखिएको छ । दुई तिहाइ पुर्याउन आवश्यक ७८ सिटभन्दा बढी स्थानमा उसको बढत रहेको छ । त्यहाँ उसको सरकार स्पष्टरुपमा बन्ने देखिन्छ । त्यस्तै मणिपुरमा भाजपाले अग्रता लिइरहेको समाचारमा जनाइएको छ ।

उत्तर प्रदेशमा बीजेपी बहुमतको बलमा लगातार दोस्रो पटक सत्तामा आउँदैछ । कुल ४०३ स्थानका लागि भएको मतदानमा भाजपाले २५१ स्थानमा अग्रता बनाएको छ । यूपीमा बहुमतको सरकार बनाउन २०२ सिट भए पुग्छ ।

भाजपाले उत्तराखण्ड र गोवामा पनि पुनः सरकार बनाउने अवस्था देखिएको छ । 

उत्तराखण्डको कुल ७० सिटका लागि भएको विधानसभा निर्वाचनमा भाजपाले ४१ स्थानमा अग्रता कायम गरेको छ । उत्तराखण्डमा बहुमतको सरकार बनाउन ३६ स्थानमा जित्नुपर्ने हुन्छ ।

त्यसैगरी गोवामा भाजपाले १८ स्थानमा अग्रता लिएको छ । कुल ४० स्थानका लागि भएको निर्वाचनमा आवश्यक बहुमत पुर्याउन २१ सिट चाहिन्छ । मणिपुरको विधानसभाका लागि भएको निर्वाचनमा पनि भाजपाले अग्रता लिइरहेको जनाइएको छ । एजेन्सी