१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, चुनावसम्म टिकिरहन मैले जित्नु आवश्यक छ– देउवा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको छ । 

आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताउनु भएको हो । 

प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नै पर्ने दबाव रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘तपाईहरुले देख्नुभयो, ओलीको सरकार हुँदा कस्तो हालत थियो, अहिले कति हलुका भएको छ । त्यसैले अहिलेको बेला यो काँग्रेस पार्टी जित्नु जरुरी छ । काँग्रेस पार्टी जितेको खण्डमा मात्रै अगाडि बढ्न सक्छ । त्यसका लागि यो महाधिवेशन अत्याधिक महत्वपूर्ण छ । यो महाधिवेशनमा मैले पनि उम्मेदवारी दिएको तपाईहरुलाई थाहा नै छ । अत्याधिक बहुमतले मलाई जिताउनु भयो भने अवश्य नै म सम्पूर्ण मागहरु पूरा गर्नेछु । अर्को कुरा म पार्टी सभापति भएको खण्डमा यो सरकार टिकिरहनेछ । राष्ट्रिय चुनावसम्मका लागि । 

त्यसैले अहिले पार्टी सभापति हारेको खण्डमा शेरबहादुरको नैतिकताले प्रधानमन्त्री बस्न नै पाइँदैन भनेर होहल्ला गर्नेवाला छन् सबैले । त्यसकारण पनि महाधिवेशनमा सभापति जित्नु मेरो आवश्यक छ । पार्टी सभापति जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्छ । त्यसैले अहिलेको बेला, मैले कसैलाई मेरो खिलाफ उठेकोमा मेरो बिरोध होइन । तर मेरो यो अन्तिम बेला हो । म ओलीलाई हटाएर प्रधानमन्त्री बन्न सफल भएको छु । यदि म जितेको खण्डमा मात्रै यो पार्टीलाई नेपालमा पूरा सबै पार्टीहरुलाई तलदेखि माथिसम्म मिलाएर सबै दलहरुको सरकार बनाउन सक्नेछु । त्यसैले मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हा¥यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् । प्रधानमन्त्री हटेपछि के अवस्था हुन्छ थाहा छ ? अघिल्लो पटक के भएको थियो हालत ? त्यसकारण प्रधानमन्त्री नेपाली काँग्रेसको हुनु आवश्यक छ । मैले हुन आवश्यक छ ।’

उहाँले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाउनु भयो । प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताउनु भयो । प्रधानमन्त्री देउवाले प्रजातन्त्र आजको आवश्यक्ता भएको उल्लेख गर्नु भयो । उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा भएको कोलाहल आफू नेतृत्वमा पुगेपछि शान्त भएको बताउनु भयो । प्रधानमन्त्री देउवाले अहिलेको समयमा काँग्रेस पार्टीले जित्न जरुरी रहेको र आफ्नो पार्टीले जितेको खण्डमा मात्रै देश अघि बढ्न सक्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो संविधान नेपाली जनताले बनाएको संविधान हो । यो संविधानले सम्पूर्ण देशका दाजुभाई, दिदिबहिनीहरु हरेक वर्ग, लिङ्ग लगायत मधेशी, महिला, दलित, जनजाती, आदिवासी, अल्पसंख्यक समुदाय समेट्ने किसिमको संविधान बनेको छ । यसमा सबैले आदिवासी प्रतिष्ठान छ, आदिवासीको संस्कृति बचाउनको लागि । दलित आयोग बनेको छ । मुस्लिम आयोग छ । त्यस्तै थारु, सबैलाई समेटेको छ । 

यो देशमा भएका जातजातीहरुलाई अटाएर बनेको संविधान छ । यो संविधानको सफल कार्यान्वयन भइरहेको छ । अझ अगाडि बढ्नेछ । त्यसैअन्तर्गत हाम्रो पार्टीले पनि आदिवासी, जनजाती, लगायतका सबैभन्दा पछाडि परेको कर्णाली, दलित, जनजाती, मुस्लिम, महिला सबैलाई हामीले आरक्षण दिएका छौँ । हाम्रो नेपालमा ३३ प्रतिशत महिलाहरुलाई आरक्षण दिएका छौँ । जनजाती, आदिवासीलाई आरक्षण दिएका छौँ । त्यसै आधारमा नेपाली काँग्रेसले पनि आफ्नो पार्टीलाई सबैको पार्टी बनाएको छ । सबैको पार्टी बन्नमा सहयोग गरेको छ । भोलिका दिनमा यो सबैको पार्टीका रुपमा जो हामीले पार्टीलाई अघि बढाएका छौँ । यो पार्टीलाई कुनै एक व्यक्तिको नभइ सबैको पार्टी बनाउने छौँ । तपाईहरु अधिकारका लागि पनि पार्टी भित्रै लड्नुस् । अर्कोतिर राष्ट्रमा प्रजातन्त्र भएको खण्डमा मात्रै आफ्ना अधिकारहरुको लागि लड्न सकिन्छ । प्रजातन्त्र नै भएन भने के हुन्छ अवस्था ? त्यसकारण प्रजातन्त्र आजको आवश्यक्ता हो । जरुरी हो ।’

प्रधानमन्त्री देउवाले नेपालको संविधान बचाउन, आदिवासी, जनजातीको हक अधिकार सुनिश्चित गर्न, महिलाहरुलाई उचित अधिकार प्रदान गर्न आवश्यक रहेको बताउनु भयो ।