७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, घटनास्थलमा सेनाको हेलिकप्टर पठाइयो



अ+ अ-
फाइल फोटो

काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभामा प्रतिवन्धित विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएपछि घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको छ ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रहरी स्रोतका अनुसार नेपाली सेनाको हेलिकप्टरसहित प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ । यता सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पनि २५ जनाको टोली खटाइएको छ ।

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर भएको बताए । उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा रहेको कारण हेलिकप्टरबाट थप सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ । त्यहाँ मोबाइल सम्पर्कसमेत हुन नसकिरहेको प्रहरी स्रोतले बताएको छ ।विप्लव समूहका गतिविधि बढेको जानकारी पाएपछि प्रहरी टोली गस्तीमा गएको थियो।

त्यहाँ झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता थिए। प्रहरीलाई देखेपछि उनीहरूले फायरिङ गरेको हो । यद्यपि दुबै पक्षतर्फ कुनै क्षति नभएको भएपनि सो क्षेत्रमा विप्लव समूहको गतिविधि बढेको निश्कर्षसहित सुरक्षाकर्मी परिचालन गरिएको हो ।