चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले प्रधानमन्त्री ओलीको विकल्प खोजी रहेको बताएका छन् ।
प्रेस युनियन चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले जनताले सुख, शान्ति र समृद्धिको महशुस गर्न नपाएकाले विकल्प खोजी भइरहेको बताए ।
उनले भने, “त्यो विकल्प कम्युनिष्टबाट हुन सक्दैन अब काङ्ग्रेस तयार हुनुपर्छ ।” जनताको अगाडि भरोसाका रुपमा काङ्ग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि गर्दैन भने । पौडेलले भने, “नेपाली काङ्ग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अङ्क गणितले असर पार्दैन ।”
सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाए।
यता पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए ।
पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उहाँले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिए । पौडेलले भने “म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।” पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए ।
पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । काङ्ग्रेसलाई बलियो बनाउन तलैबाट सङ्गठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।