काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरेका छन् ।
समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको पीएचडीले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने आरोप लगाए ।
उनले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गरेका छन् । नेताहरुले सम्मान दिन तयार रहेको भन्दै उनले भने, ‘कसरी सम्झाउने होला भनेर चिन्त लागेको छ । उहाँहरुले पनि भनिदिनुपर्यो, के सम्मान गर्यो भने आउनुहुन्छ ।’
फरक प्रशंगमा प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताए । शान्ति प्रक्रिया भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै उनले असन्तुष्टि जनाए ।
उक्त कार्यक्रममा समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराइएको थियो ।