काठमाडौं । एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेटमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ए मा रहेको नेपालले दुवै खेल जित्दै विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरमाथि २१७ रनको जित निकाल्न सफल भयो ।
नेपालले दिएको ३२७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलव १ ओभरमा १०९ रन बनाएर अलआउट भयो । सिंगापुरका तीन खेलाडीले मात्रै दोहोरो अंक जोड्न सके । हरि कुक्रेजाले ३०, कन्नुसामी सतीशले २४ तथा चन्द्रमौली श्रीदेवले २३ रन जोडे । सिंगापुरले अतिरिक्त १५ रन पाएको थियो ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कुशल मल्लले ४ र तिलकराज भण्डारीले २ विकेट लिए । त्यस्तै रसिद खान र सागर ढकालले समान एक एक विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले रित गौतमको शतक, खडक बोहारा र कुशल मल्लको अर्धशतकमा ४ विकेट गुमाएर ३२६ रन बनाएको थियो । ओपनर रित गौतमको सानदार शतक र खडगबहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो ।
ओपनर रित र पवन सर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए । पवन ४५ रनको स्कोरमा आउट रितले खडगसँग मिलेर १३१ रनको शतकीय साझेदारी गरेका थिए ।
४०औं ओभरमा खडग ९० बलमा ९० रन बनाएर आउट भए । शतक बनाउनबाट चुकेका उनले १२ चौका प्रहार गरे । त्यसपछि आएका विशाल विक्रम केसी र कप्तान रोहित कुमार पौडेलले क्रमशः १ र ७ रनमात्र जोड्न सके । पाँचौं नम्बरमा आएर कुशल मल्लले विस्फोटक ब्याटिङ गरेपछि नेपालले ३२६ रनको योगफल तयार गरेको हो ।
४७ दशमलव १ ओभरमा रितले १३१ बलमा शतक प्रहार गरे । उनले डीप स्क्वायर लेगमा चौका प्रहार गर्दै शतक बनाए । रितले १३७ बलमा ११५ रनको अविजित शतकीय पारी खेले ।
कुशलले २३ बलमा ५१ रनको विस्फोटक अर्धशतकीय पारी खेले ।बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले दुईदुई विकेट लिए ।