अछाम । स्थानीय सरकारका वाडा कार्यालय विप्लव समूहले तालावन्दी गरेको छ । पार्टीको सेती महाँकाली ब्यूरोले १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
जिल्लाको सदुरमुकाम मंगलसैन नगरपालिकाको वडानम्वर १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडानम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दि गरिएको विप्लव समूह निकट श्रोतले जानकारी दिएको छ ।
“पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दि गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दि गरिएको हो ।” श्रोतले भन्यो । यता मंगलसैन नगरपालिका वडानम्वर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालय ताला तोडेर छुट्टै ताला झुण्ड्यायको जानकारी दिनुभएको छ ।
वडा कार्यालयमा तालाबन्दि कसले र कतिबेला गरेको हो भन्ने जानकारी नभएको भन्दै थापाले राती नै लगाएको हुनसक्ने बताउँनुभयो ।
“वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाईएको छ ।” वडा अध्यक्ष थापाले भन्नुभयो “संगै दलाल पुजीवादी संसदीय ब्यावस्था अन्त्य गरौं, सामाजिक दलाल पुजीवादी सरकार खारेज गरौं, नेपाल कम्यूनिष्ट पार्टी सेती महाँकाली ब्यूरो भनेर पर्चा टाँसिएको छ ।”
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने अहिलेसम्म पञ्चदेवल बिनायक नगरपालिकाको पुल्लेतोला स्थित वडा कार्यालयमा तालाबन्दी भएको खबर प्राप्त भएको र प्रहरी पठाएर ताला खोलिने जानकारी दिनुभयो ।
विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टी अछामले १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको भनेपनि के कति वडा कार्यालयमा तालाबन्दि भएको हो भन्ने कुरा एकिन भएको छैन ।