१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार स्रोत भन्छ– ५६ प्रतिशत मत ल्याएर पहिलो चरणमै जितिन्छ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशन जारी रहेको छ । आज राति १२ बजेसम्म अन्तिम नामावली प्रकाशन हुन लागेको छ भने अरु निर्वाचनको प्रक्रिया पनि पूरा भएको छ । 

यसै सिलसिलामा सभापतिमा कसले बाजी मार्छ भन्ने कुराले धेरै चर्चा पाएको छ । त्यसमा आ–आफ्नै दाबी रहेका छन् । 

यसैबीच प्राप्त एक सूचनाअनुसार देउवा पक्षले भने पहिल्यै चरणमा जित्ने निष्कर्ष निकालेको छ । देउवा पक्षका देशभरिका महाधिवेशन प्रतिनिधिहरुको आंकलन सरकारी सूचनाका आधारमा गरिएको पाइएको छ । 

सभापति शेरबहादुर देउवाको पक्षका प्रतिनिधिहरु आफै ५१ प्रतिशत रहेका र त्यसमा कृष्ण सिटौलाका प्रतिनिधिहरु ५ प्रतिशत रहेका बताइएको छ । गृहमन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समेत काँग्रेसको क्षेत्रीय प्रतिनिधिहरुको निर्वाचनदेखि अनुसन्धान गरिएको र त्यसका आधारमा आएको परिणाममा यस्तो देखिएको देउवा पक्षका एकजना नेताले बताए । 

उनका अनुसार प्रधानमन्त्री देउवा र कृष्ण सिटौलाका प्रतिनिधिहरुको सहभागितामा पहिल्यै चरणमा नै निर्वाचन जित्नेगरी तयारी भएको छ र यसैका आधारमा सिटौलाले पनि देउवासँग गठबन्धन गरेका हुन् । 

यता शेखर कोइराला र प्रकाशमान सिंहले पदाधिकारी तथा केन्द्रीय सदस्य समेत राख्ने नेताहरु नपाइरहेका बेला उता देउवाका पक्षका भने दुई जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं २ बाट नै दुई सदस्य आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल सभापति देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै अरु पदाधिकारीहरुको अवस्था पनि निकै बलियो रहेको छ । 

महामन्त्रीमा डा प्रकाशशरण महत र सोही प्यानलमा रहेका प्रदीप पौडेल बलिया छन् भने उता कांग्रेसका लोकप्रिय नेता गगन थापालाई पनि गाह्रो पर्ने अवस्था देखिएको विश्लेषकहरुको भनाई छ ।

ती विश्लेषकका अनुसार देउवाले पहिल्यै चरणमा निर्वाचन जित्ने भएपछि आइतबार अपरान्हदेखि सभापतिका उम्मेदबार शेखर कोइराला देउवामाथि खनिएका छन् । उनले कतिबेला आफ्नो घरमा देउवाले गुप्तचर पठाएको भन्ने गरेका छन् भने कतिबेला रामचन्द्र पौडेलको पनि आफूलाई सहयोग रहेको बताएका छन् ।