१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपलबोट सहकारी थप विस्तार हुँदै, अभिवादन सहकारीसँग मर्ज हुने



अ+ अ-

मगरगाउँ (ललितपुर) : ललितपुर महानगरपालिका वडा नं. १८ को मगरगाउँमा संचालन भइरहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था र ललितपुरमै सेवारत अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण (मर्ज) हुने भएको छ ।

पिपलबोट सहकारीको १४औं साधारण सभाले मर्जर प्रक्रियालाई अनुमोदन गरेको छ । अब दुबै संस्थाले चाँडै आवश्यक प्रक्रिया पूरा गरी एकीकृत कारोबार थालनी गर्ने पिपलबोट सहकारीका अध्यक्ष दिनेश थापाले साधारणसभामा बताउनु भएको छ ।

मगरगाउँ र आसपासका क्षेत्रमा निकै लोकप्रिय पिपलबोट सहकारीका सेवाग्राहीले मर्जर पछि ललितपुरका विभिन्न भागबाट रकम बचत गर्न र झिक्न सक्ने सुविधा प्राप्त गर्ने श्री थापाले जानकारी गराउनुभयो ।

साधारण सभामा अध्यक्ष थापाले पेश गर्नु भएको आगामी नीति तथा कार्यक्रममा संस्थाले शेयर पूँजी, बचत, लगानी, सदस्यता र समग्र कारोबार वृद्धि गर्ने तथा सदस्यता वृद्धिको योजनालाई अगाडि बढाइने उल्लेख छ ।

संस्थाको आर्थिक वर्ष २०७७–७८ असार मसान्तसम्म शेयर पुँजीमा १३.८१ प्रतिशत वृद्धि भई रु. ७५ लाख ७४ हजार ३०० पुगेको छ । यसैगरी संस्थाले सोही अवधिमा पाँच करोड ४५ लाख ७१ हजार कर्जा लगानी गर्न सफल भएको छ ।

यस्तै,  आर्थिक वर्ष २०७७–७८ असार मसान्तसम्म संस्थामा २० लाख ३२ हजार नगद मौज्दात तथा ९३ लाख ७८ हजार बैंक मौज्दात रहेको संस्थाले जनाएको छ ।

संस्थाका सदस्यहरुको सुविधाका लागि रेमिट्यान्स सब एजेन्ट भई संचालित विभिन्न रेमिट्यान्स सुविधाहरुलाई थप गरी विप्रेषण सुविधा दिने योजना पनि संस्थाले राखेको छ । शेयर सदस्यहरु बिरामी भई अस्पताल भर्ना भई उपचार गराउनु परेको अवस्थामा रोगको प्रकृति हेरी राहत दिने तथा बिमा सुविधाहरु उपलब्ध गराउने कार्यलाई संस्थाले अगाडि बढाएको छ ।

साधारण सभामा सञ्चालक समितिका सदस्य शंकर थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुदर्शन थापाले गर्नु भएको थियो । बहुउद्देश्यीय सहकारी संघ ललितपुरका उपाध्यक्ष किशोर महर्जनको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको थियो ।