काठमाडौं । मदन पुरस्कार गुठीले यसवर्षको ७ उत्कृष्ट पुस्तकको सूची तयार पारेको छ ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् ।
छनोटमा परेका कृतिमा सानु शर्माको ‘एकादेशमा’, विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ र कुमार नगरकोटीको ‘ज्ञ’ छन् । त्यस्तै, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पनि उत्कृष्ट सातमा परेका छन् ।
छानिएका यी सात पुस्तकहरू मध्ये एकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिने दीक्षितले जानकारी दिए । मदन पुरस्कार प्रतिष्ठित पुरस्कार हो । यसको राशि २ लाख रुपैयाँ छ ।