१९ आश्विन २०८१, शनिबार
,
Latest
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड स्थलगत रिपोर्ट : प्राथमिकताका आधारमा सहयोग गर्नुपर्छ बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिस्पर्धी शिक्षाका लागि सरकार चिन्तनशील : प्रधानमन्त्री ओली



अ+ अ-

कीर्तिपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तन र रूपान्तरणका विषयसँग त्रिभुवन विश्वविद्यालयको अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ । उहाँले सामाजिक परिवर्तन र आवश्यकताअनुरूप शिक्षा क्षेत्र प्रभावित हुँदै जानेसमेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुधबार आयोजित त्रिभुवन विश्वविद्यालयको ६०औँ वार्षिक दिवस बैठकमा विश्वविद्यालयमा बेथिति हुन नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यस्तो संस्थामा कुनै पनि प्रकारको बेथिति र अनियमितता हुनु हुँदैन । यस्तो भयो भने जोसुकैबाट बेथिति भए पनि अनुहार हेरिने छैन । ”
त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको पहुँचमा पु¥याउन आवश्यक रहेको चर्चा गर्दै त्यसका लागि व्यवस्थापनमा विकेन्द्रीकरण र स्वायत्ततालाई क्रमिक रूपमा अगाडि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मानव संशाधन प्रक्षेपणले मुलुकमा आवश्यक दक्ष जनशक्तिबारे आँकडा दिएकाले मुलुकको आवश्यकताअनुरूप विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्नुुपर्ने बताउनुभयो । उहाँले प्राविधिक शिक्षातर्फ हाम्रा उपलब्धि पर्याप्त नभएको चर्चा गर्दै प्राविधिक शिक्षातर्फ दक्ष जनशक्तिको आकारलाई बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले कृषिमा रहेको पछौटेपनबाट फड्को मार्न र ४५ प्रतिशत वन क्षेत्रबाट राष्ट्रले लाभ लिन दक्ष प्राविधिक एवं विशेषज्ञताको आवश्यक रहेको बताउनुभयो । उहाँले अरू व्यवसायजस्तो शिक्षा क्षेत्र नभएको स्पष्ट पार्दै भन्नुभयो, “के चल्छ भनेर थापिने पसलजस्तो शिक्षा क्षेत्र होइन । देशको आवश्यकता परिपूर्तिका निम्ति दक्ष जनशक्ति उत्पादनलाई ध्यानमा राखेर निजी क्षेत्रले लगानी गर्नुपर्छ ।” उहाँले मानव संसाधन प्रक्षेपण र प्रस्तुत शिक्षा नीतिलाई व्यवस्थित र परिमार्जित गरेर नेपालको शिक्षा क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउने गरी अगाडि बढाउन सरकार गम्भीर ढङ्गले चिन्तनशील रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले शैक्षिक संस्था शान्तिको सन्देश दिने पवित्र मन्दिर भएको बताउनुभयो । उहाँले बेठीक कामको संरक्षण नहुने स्पष्ट पार्दै थप्नुभयो, “मेरो पहुँच छ, माथिसम्म चिनजान छ, निकटता छ भन्ने कुराले कुनै पनि काम लाग्दैन । कामअनुसारको व्यवहार हुनेछ । बिनापूर्वाग्रह राम्रो काम गर्ने पुरस्कृत र नराम्रो काम गर्ने दण्डित हुनेछ ।”

उहाँले साग बेच्नेसँग उठाएको कर शिक्षण संस्थामा खर्च गरिएकाले शिक्षण संस्थामा बेथिति र तोडफोड गर्ने कार्य मान्य नहुने बताउनुभयो । प्रधानमन्त्रीले आफ्ना जायज माग सुनाउन र पूरा गराउन कुनै बलजफ्ती गरिरहनु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय र अन्य शिक्षण संस्थाका साथीलाई भन्छु, जायज कुराप्रति शिर झुकाएर मान्न तयार छु । केही जोरजुलुम गर्नै पर्दैन । हाम्रा कुरा सुनिदैन कि भन्नै पर्दैन । जायज कुराको सुनुवाइ हुन्छ ।”

उहाँले गुरुहरूको पनि गुरु विश्वविद्यालय भएकाले शिक्षाको गुणस्तर अभिवृद्धि र संस्थागत विकासका लागि त्रिविको अहम् भूमिका रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले त्रिविको ६०औँ वार्षिक दिवसको उपलक्ष्यमा झण्डोत्तोलनका साथै नवनिर्मित भवन र सोही स्थानमा निर्मित सरस्वती मन्दिरको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिविविको उन्नति, विकास र सहयोगका लागि सरकारले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो । त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले सेमेस्टर प्रणालीको विस्तार, प्रविधियुक्त नयाँ शैक्षिक कार्यक्रमको विस्तार, खुला तथा दूरशिक्षा, विश्वस्तरको विश्वविद्यालयको सूचीमा त्रिविको प्रवेशलगायत त्रिविको उन्नतिप्रति खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा उपकुलपति प्राडा तीर्थराज खनियाँले मुलुकमा ११ वटा विश्वविद्यालय रहे पनि उच्च शिक्षामा ८० प्रतिशत विद्यार्थीलाई त्रिविले गुणस्तरीय शिक्षा दिइरहेको बताउनुभयो । कार्यक्रममा रजिस्ट्रार डिल्लीराम उप्रेतीले सभामा ५७औँ ग्रेस लिस्टको सङ्क्षिप्त विवरण पेस गर्नुभएको थियो ।
त्यस्तै, शिक्षाशास्त्र सङ्कायका डीन प्राडा कृष्णप्रसाद गौतम, कानुन सङ्कायका डीन प्राडा विजयसिंह सिजापति, व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराज शर्मा, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्राडा शिवलाल भुसालले ग्रेस लिस्ट प्रस्तुत गर्नुभयो ।

यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा। रामचन्द्र सापकोटा, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीशप्रसाद अग्रवाल, कृषि र पशु विज्ञान अध्ययन संस्थानका डीन प्राडा केशवराज अधिकारी, वन विज्ञान अध्ययन संस्थानका डीन प्राडा कृष्णराज तिवारी र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा रामप्रसाद खतिवडाले विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ५७ औँ ग्रेस लिस्टमा समाविष्ट ७० हजार विद्यार्थीलाई सम्बन्धित उपाधि प्रदान गर्न सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । सभाले सो प्रस्ताव स्वीकृत गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।