इजराइल । मिस इन्डिया हरनाज सन्धुले यस वर्षको मिस युनिभर्स जितेकी छिन् । आइतबार २१ वर्षीय सन्धुले मिस युनिभर्स २०२१ का लागि विभिन्न मुलुक र क्षेत्रका ७९ प्रतिस्पर्धीलाई पराजित गरिन् । प्रतियोगितामा मिस पाराग्वे नादिया फरेरा फस्र्ट रनरअप र मिस दक्षिण अफ्रिका लालेवा मसवाने सेकेन्ड रनरअप भइन् ।
सन्धुलाई उनका पूर्ववर्ती मिस युनिभर्स २०२० एन्ड्रिया मेजाले इजराइलको इलियटमा ताज पहिराइदिइन् । महिला सशक्तिकरणका लागि बलियो पैरवी गर्ने सन्धु प्रियङ्का चोपडाबाट प्रेरणा लिने कलाकार हुन् । फुर्सदको समयमा उनी योग, नृत्य, खाना पकाउने, घोडचढी र चेस खेल्न मन पराउँछिन् ।
विजयी घोणणा गर्नुअघि स्टिभ हार्वेद्वारा आयोजना गरिएको ७० औँ वार्षिक मिस युनिभर्स प्रतियोगितामा स्विमसुट र साँझको गाउनको चरणका साथै प्रत्येक प्रतियोगीका लागि अन्तरवार्ताको भाग पनि राखिएको थियो ।
इजराइली गायक तथा अन्तर्राष्ट्रिय पप स्टार नोआ किरेलले पनि प्रतियोगितामा प्रस्तुति दिएका थिए जसमा इजारइलको मूल्यमान्यतासँग मेल खाने हरित एजेन्डाको भागका रुपमा जलवायु सङ्कटमा ध्यान केन्द्रीत गरिएको थियो ।
यो प्रतियोगितामा युनाइटेड अरब इमिरेट्सबाट कुनै प्रतिनिधिले प्रतिस्पर्धा गरेको पहिलो हो । साथै चार दशकमा मिस युनिभर्सको अर्को प्रतियोगिता पुनः मोरक्कोमा आयोजना हुन गइरहेकाले पनि यस प्रतियोगितालाई ऐतिहासिक मानिएको थियो । २७ वर्षीया मेजाले २०२० मे महिनामा गत वर्षको ताज हासिल गरेको सात महिनापछि मिस युनिभर्स २०२१ आयोजना गरिएको थियो ।