काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेशन चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काममा फर्किन तयार भएको छ ।
परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मुल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक पटक आह्वान गरेको तथा जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता आएपछि काममा फर्किन लागेको फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जनाएका छन् ।
उनले नेपाल र नेपालीलाई खेलकूदको माध्यमबाट चिनाउने राष्ट्रिय महत्वको विषय बनेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्पूर्ण देशभक्त नेपाली नागरिकको गौरव र भावनासँग जोडिएको वृहत परियोजना रहेको बताए ।
आफूहरु निःस्वार्थ, राष्ट्रभाव र सामाजिक दायित्व बोध गरी आफ्ना सबै निजी लाभका विषयहरुलाई भन्दा देशको विकासलाई शिरोपर गरेर काममा लागरिरहेको उनले बताए ।
‘सबैको भावनालाई सम्मान गर्दै हरेक परियोजनाको नेतृत्व गरेका हौँ । हामीमा एउटै स्वार्थ छ, नेपाली भूमिमा सबैको साथ र सहयोगबाट निर्मित हाम्रो आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला हुनुपर्छ’, बिहीबार जारी गरिएको विज्ञप्तिमा कट्टेलले भनेका छन् ।
पछिल्लो समयमा सबैलाई खड्किएको र खेलाडीहरुले समेत बोध गरेको आफ्नै अन्तराष्ट्रिय रंगशाला निर्माणको आवाजलाई सम्बोधन गर्न हामीले यो रंगशालाको अवधारणा सार्वजनिक गरि कार्य आरम्भ गरेको उनले बताएका छन् ।
उनले विगतमा भएका जस्ता कार्य आगामी दिनमा नदोहोरियोस् भन्ने कामना समेत गरेका छन् । जे नहुनु थियो भयो । उनले भनेका छन्, त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिवद्ध रहनुहुनेछ ।
गत जेठ १५ गते रंगलाशाको बाहिरपट्टी लगाइएको बारमा स्थानीय केही व्यक्तिले डोजर चलाएर भत्काएपछि काम रोकिएको थियो । त्यसपछि धुर्मुस–सुन्तली काम छोडेर हिँडेका थिए ।
रंगशालाको बार भत्काइएपछि कुञ्जना घिमिरे ‘सुन्तली’ले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको थियो । उनले रंगशाखाको बार भत्काउनेहरु ‘देशद्रोही’ हुन् भनेकी थिइन् ।बार भत्काउने कार्यमा संलग्न स्थानीय प्रकाश कँडेल लगायतका युवाहरु धरौटीमा रिहा भइसकेका छन् ।