जोहानेसबर्ग । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड–१९ पोजिटिभ देखिएको छ । उहाँमा हल्का लक्षण देखिएको थियो । आइतबार रामाफोसाको परीक्षणमा पोजिटिभ देखिएपछि कोभिड–१९ का हल्का लक्षणहरुको उपचार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार पूर्व उपराष्ट्रपति एफडब्ल्यु डे क्लार्कको सम्मानमा केपटाउनमा राज्य स्मारकबाट हिँडेपछि रामाफोसाले अस्वस्थ महसुस गर्नुभएको थियो । उहाँले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउनुभएको थियो र हालै पश्चिम अफ्रिकाको भ्रमणबाट फर्कनुभएको थियो । उहाँको कार्यालयका अनुसार डिसेम्बर ८ मा जोहानेसबर्ग फर्किएपछि उहाँको कोभिड–१९ नेगेटिभ आएको थियो ।
सिएनएनका अनुसार राष्ट्रपति अहिले केप टाउनमा सेल्फ आइसोलेसनमा हुनुहुन्छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामाफोसाले आफ्नो कोरोना भाइरस सङ्क्रमणले देशका सबै मानिसलाई खोप लगाउन र जोखिमप्रति सचेत हुन चेतावनी दिएको बताउनुभएको छ, खोप भनेको गम्भीर रोग र अस्पताल भर्ना विरुद्धको उत्तम सुरक्षा हो।’
सिएनएनका अनुसार उहाँले आगामी साताका लागि उपराष्ट्रपति डेभिड माबुजालाई सबै जिम्मेबारी सुम्पनुभएको छ ।
हालै दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पत्ता लगाएका छन् जसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खतरनाक बताएको छ । त्यसैकारण दक्षिण अफ्रिकामा पनि कोभिड महामारीको चौथो लहर देखिएको छ ।