काठमाडौँ । विभिन्न सात साना कम्युनिष्ट पार्टीले आज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को एमसीए कार्यालय घेराउ गरेका छन् । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारका निम्ति एमसीसी सम्झौता खारेज गर्न भन्दै उनीहरुले कार्यालय घेराउ गरेका हुन् ।
सरकारले एमसीसीलाई संसद्बाट अनुमोदन गराउन भोलि मङ्सिर २८ गते संसद् आह्वान गरेको भन्दै उनीहरुले यसका विरुद्ध सङ्घर्षलाई सशक्त बनाउनु र खारेज गर्नु नेपाली जनताको जीवन मरणको विषय भएको बताएका छन् । यसै सन्दर्भमा ती दलहरुले भोलि संसद् भवन घेराउ गर्ने कार्यक्रम बनाएको विज्ञप्तिमार्फत जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमा आगामी परिस्थितिलाई हेरी थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।