नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको मतदानको सभापतिको मतगणना अहिले बिहान ४ः २० बाट सुरु भएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा नै मतगणना सुरु भएको नेपाली कांग्रेसको पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिनुभयो । सदस्य रावलले बढीमा ४ घण्टामाभित्रमा मतगणना पूरा गरी परिणाम आइसक्ने बताउनुभयो ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको समितिले जनाएको छ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।