• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

एसईई परीक्षार्थीलाई खुसीको खबर ! उत्तरपुस्तिका पुनः परीक्षण हुने



भक्तपुर । प्रवेशिका परीक्षा (एसईई)मा प्राप्त नतिजाप्रति असन्तुष्ट परीक्षार्थीका लागि खुसीको खबर छ । परीक्षा नियन्त्रण कार्यालयले यस पटकदेखि परीक्षार्थीका उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्था सुरु गर्दै छ । त्यसका लागि एसईई परीक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै आवेदन भने दिनुपर्ने छ ।

यसभन्दा पहिले निवेदन दिनेहरूले उत्तरपुस्तिका जाँचपछि प्राप्त अङ्क मात्र पुनः जोड्ने व्यवस्था थियो । अब निवेदन आए उत्तरपुस्तिका नै पुन जाँच गरिने छ । परीक्षकहरूले जथाभावी रूपमा उत्तरपुस्तिका परीक्षण गरिदिने र त्यसबाट परीक्षार्थी अन्यायमा पर्ने गरेको तथ्य परीक्षा नियन्त्रण कार्यालयकै अध्ययनले प्रमाणित गरिसकेको छ । त्यसैले अभिभावक, विद्यार्थी तथा विद्यालयका पदाधिकारीले निकै अघिदेखि प्रवेशिका परीक्षाको उत्तरपुस्तिका पुनःपरीक्षण गर्ने व्यवस्थाका लागि माग गर्दै आएका थिए ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस्तो अभ्यास यसैपटकबाट थालनी गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, “सम्बन्धित विद्यार्थी, उनका अभिभावक र सम्बन्धित विषयका विज्ञलाई राखेर पुनःपरीक्षण गराउने व्यवस्था थाल्दै छौँ । यसबाट विद्यार्थी र उनका अभिभावक सन्तुष्ट हुन सक्ने छन् । ” उत्तरपुस्तिका पुनःपरीक्षणका लागि शुल्क तोक्न बाँकी छ ।

प्रवेशिका परीक्षामा पुनःपरीक्षणको व्यवस्था नौलो होइन । राणाकालमा पनि यस्तो सुविधा विद्यार्थीलाई प्रदान गरिन्थ्यो । त्यो बखत प्रधानाध्यापकमार्फत ‘परीक्षा नियन्त्रकको कार्यालय’मा ‘पाएको नम्बर दोहोर्याई पाऊँ’ भनी दरखास्त दिनुपथ्र्यो ।

वि.सं. २००४ वैशाख १ गतेको गोरखापत्रमा “एसएलसी रेगुलेसनबमोजिम कापी दोहोर्याई जाँच्दा २००३ सालको एसएलसी परीक्षा पास हुन आएका स्कुलमा पढी जाँच दिने केदारलाल श्रेष्ठ तेस्रा श्रेणीमा पास भएको छ । हरमणि आदी भनेर सूचना छापिएको थियो । हरमणि आदी त्यसबेलाका परीक्षा नियन्त्रक हुनुहुन्थ्यो ।

उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा उत्तीर्ण भएको अवस्था २००६ सालमा पनि देखिएको थियो । उत्तरपुस्तिका पुनःपरीक्षण गराउँदा तृतीय श्रेणीमा उत्तीर्ण भएका दिवाकरविक्रम राणा दोस्रो श्रेणीमा र अनुत्तीर्ण भएका रामनिधि तेवारी तेस्रो श्रेणीमा उत्तीर्ण भएका थिए । पछि यस्तो सुविधा हट्यो । कहिलेबाट हटेको भन्ने यकिन छैन ।

उत्तरपुस्तिकाका प्रतिलिपि हेर्न चाहने परीक्षार्थी थुप्रै हुन्थे तर गोपनीयता कायम राख्नुपर्ने भएकाले उत्तरपुस्तिका देखाउने अभ्यास भने थिएन । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिकाको प्रमाणित प्रतिलिपि परीक्षक तथा सम्परीक्षकको नाम नामेसी नखुल्ने गरी उपलब्ध गराउन आदेश दिएपछि २०६८ सालबाट उत्तरपुस्तिकाको प्रतिलिपि उपलब्ध गराउन थालियो । पनिकाका अनुसार २०७५ सालको एसईई परीक्षाको नतिजा चित्त नबुझेको भन्दै पुनर्योगका लागि सानोठिमीस्थित पनिकामा करिब आठ हजारले आवेदन दिएका छन् । हुलाकबाट पठाएर वा जिल्लास्थित शिक्षा निकायबाट पनि यस्तो आवेदन दिन पाउने भएकाले थप दुई हजारको आवेदन आउन सक्ने अनुमान पनिकाले गरेको छ । पुनर्योगका लागि प्रतिविषय पाँच सय रुपियाँ बुझाउनुपर्ने नियम छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पुनर्योगका लागि आवेदन दिनेहरूले प्रतिलिपि वा पुनःपरीक्षण गर्न सक्ने बताउँदै प्रतिलिपि लिन चाहनेहरूले पछि पुनःपरीक्षणको सुविधा माग गर्न नपाउने स्पष्ट गर्नुभयो । गत वर्षबाट कक्षा ११ र १२ मा पनि पुनःपरीक्षणको सुविधा सुरु भएको थियो । ती कक्षामा प्रतिविषय दुई हजार रुपियाँ बुझाएर पुनःपरीक्षण गराउन सक्ने व्यवस्था गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।