८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हो हेज फण्ड ? विश्वका १० उत्कृष्ट हेज फन्ड म्यानेजर कम्पनीमा अमेरिकीको बर्चश्व



अ+ अ-

काठमाडौं । हेज फन्ड एक किसिमले अर्काको पैसा अर्थात् लगानीकर्ताको पैसाको व्यवस्थापन हो । यो एक प्रकारको इक्विटी फन्ड हो । तर इक्विटी फन्डमा साना लगानीकर्ताको पैसा समावेश हुन्छ, र यो पब्लिकका लागि खुला हुन्छ । तर हेज फन्डमा त्यस्तो हुँदैन । ठूला ठूला लगानीकर्ताहरुले आफूसँग भएको पैसा सोझै हेज फन्डका लागि छुट्याउँछन् र त्यो कुनै हेज फन्ड म्यानेजरलाई दिन्छन् ।

हेज फन्ड म्यानेजरले त्यस्तो पैसा ठूला र उच्च प्रतिफल दिने कम्पनीमा लगानी गर्दछन् । निकै जोखिमयुक्त यस्तो कारोबारमा विश्वका उत्कृष्ट १० हेज फन्ड म्यानेजरको विवरण यहाँ प्रस्तुत गरिएको छ । यी कम्पनीले १४ देखि ३० प्रतिशतसम्म लगानीकर्तालाई फाइदा दिएको दाबी गरिएको छ, जुन निकै ठूलो प्रतिफल हो ।

विश्वमा हाल ९००० हेज फन्ड म्यानेजर रहेको अनुमान छ । करिब ३.६ ट्रिलियन डलरको पुँजी यसभित्र छ । कमजोर व्यवस्थापन र उच्च शुल्कका कारण हेज फन्डका लगानीकर्ताको संख्या घटेको छ । तर केही फन्ड म्यानेजरको अवस्था अत्यन्त राम्रो छ र त्यहाँ अर्बौं डलरको लगानी भइरहेको छ । नाफामा रहेका कतिपय हेज फन्डले नयाँ ग्राहकलाई प्रवेश गर्नै दिएका छैनन् ।

प्रस्तुत छ हेज फन्ड बजारको स्थिति विश्लेषण गरेर एलक्स डटकमले तयार पारेको विश्वका १० उत्कृष्ट फन्ड म्यानेजर सम्बन्धी रिपोर्ट ।
१. ब्रिजवाटर एसोसिएट्स – १ खर्ब २३ अर्ब डलर : यो समकालीन विश्वको सबैभन्दा ठूलो हेज फन्ड म्यानेजर कम्पनी हो । अमेरिकी अर्बपति व्यापारी रे डालियोले यो कम्पनी सन् १९७५ मा स्थापना गरेका थिए । ब्लुम्बर्गका अनुसार उनी विश्वका ५८औं सर्वाधिक धनीको सूचीमा पनि रहेका छन् ।

२. रेनेसाँ टेक्नोलोजीज – ८४ अर्ब डलर : यो कम्पनी अमेरिकी म्याथमेटिसिएन अर्बपति व्यापारी जिम साइमोन्सले सन् १९८२ स्थापना गरेका थिए । यसको मुख्यालय अमेरिकाको न्यूयोर्कमा रहेको छ । शुरुआती दिनमा करिब २७ अर्ब डलरको व्यवस्थापन गरेको यस कम्पनीले सन् २०१७ मा करिब ४५ अर्ब डलरको व्यवस्थापन गरेको थियो ।

३. ए क्यू आर क्यापिटल म्यानेजमेन्ट – ७७ अर्ब डलर : अमेरिकाको ग्रीनविचमा मुख्यालय रहेको यो कम्पनी सन् १९९८ मा क्लिफ एसनेसले स्थापना गरेका थिए । यसका कार्यालयहरु हाल हङकङ, लन्डन, सिड्नी, लस एन्जलस, बोस्टन र सिकागोमा रहेका छन् । यो कम्पनीमा ५० प्रतिशत कर्मचारी पिएचडी गरेका छन् । त्यसैले यस कम्पनीलाई प्राज्ञिक थलोका रुपमा लिइन्छ ।

४. म्यान ग्रुप – ५३ अर्ब डलर : यो लन्डनमा प्रधान कार्यालय रहेको कम्पनी हो । यो कम्पनी सन् १७८३ मा स्थापना भएको थियो । यसका संस्थापक जेम्स म्यान थिए । बेलायतमा पब्लिक कम्पनीका रुपमा कारोबार गरिरहेको यस कम्पनीले चीनमा कारोबार गर्ने अनुमति पनि पाएको छ ।

५. डिई श एन्ड कम्पनी – ४७ अर्ब डलर : यो कम्पनी पनि न्यूयोर्कमै खुलेको हो । यसका कार्यालयहरु लन्डन, बर्मुडा, सांघाई, हङकङ र विश्वका अरु शहरहरुमा रहेका छन् । यो कम्पनी १९८८ मा स्थापना भएको थियो । यसका संस्थापकमा अमेरिकी लगानीकर्ता, कम्प्युटर वैज्ञानिक तथा हेज फन्ड म्यानेजर डेभिड ई श रहेका छन् ।

६. टू सिग्मा – ४५ अर्ब डलर : यो कम्पनी २००१ मा स्थापना भएको हो । यसका संस्थापकहरुमा अर्बपति डेभिड सिगल र जोन ओभरडेक रहेका छन् । सन् २०१० मा केबल ५ अर्ब डलरको हेज फन्ड व्यवस्थापन गरेको यो कम्पनीले २०१७ को अन्त्यसम्ममा यसको कारोबार ९०० प्रतिशत वृद्धि भई ४५ अर्ब डलर पुगेको थियो । विगत १० वर्षदेखि यस कम्पनीले लगानीकर्तालाई औसतमा ३० प्रतिशतको लाभ दिइरहेको छ । यो कम्पनीको मुख्यालय न्यूयोर्कमा रहेको छ, तर विश्वका प्रमुख शहरहरु हङकङ, ह्युस्टन र लन्डनमा यसका कार्यालयहरु रहेका छन् ।

७. मिलेनियम म्यानेजमेन्ट – ३६ अर्ब डलर: सन् १९८९ मा अमेरिकी लगानीकर्ता इजरेल इङल्यान्डरले साथी रोनाल्ड सियरसँग मिलेर ३५ मिलियन डलरमा यो कम्पनी स्थापना गरेका थिए । शुरुआती दिनहरुमा कम्पनीको अवस्था कमजोर रहेका कारण छ महिनापछि नै सियरले कम्पनी छाडेका थिए । छर यो कम्पनी पछिल्ला केही वर्षमा व्यापक रुपमा विस्तारित भएको छ । यसका विश्वभर अहिले १२ वटा कार्यालय छन् । यो विश्वमै हेज फन्डबाट आम्दानी गर्नेको सूचीमा पाँचौं स्थानमा छ ।

८. इलियन म्यानेजमेन्ट – ३४ अर्ब डलर : अर्बपति पल सिंगरले यो कम्पनी सन् १९७७ मा न्यूयोर्कमा खडा गरेका थिए । यो कम्पनीको शुरुदेखि नै उनी प्रमुख कार्यकारी थिए । उनी सन् २०१७ मा हेज फन्डमा विश्वमै छैटौं सर्वाधिक आम्दानी गर्ने कार्यकारीमा गनिएका थिए । त्यस वर्ष उनले ४०० मिलियन डलर आम्दानी गरेका थिए ।

९. अक–जिफ क्यापिटल म्यानेजमेन्ट – ३१.८ बिलियन डलर : अज क्यापिटल भनिने यो समूह सन् १९९४ मा स्थापना भएको थियो । यसका कार्यालयहरु न्यूयोर्क, हङकङ, लन्डन, मुम्बई, बेइजिङ र ह्युस्टनमा रहेका छन् । यो कम्पनीको स्थापना डेनियल अकले ३.२ बिलियन डलरबाट गरेका थिए । पछि यसमा तीन जना जिफ दाजुभाइ प्रत्येकले १०० मिलियन डलर लगानी गरेका थिए । त्यहीकारण अहिले कम्पनीको नाम अक–जिफ भएको छ । अफ्रिकी मुलुकमा घुस लिएर पैसा लगानी गरेको आरोपमा यो कम्पनीमाथि दण्ड जरिवाना समेत गरिएको थियो ।

१०. विन्टन ग्रुप – १८.५ बिलियन डलर : यो समूहको स्थापना सन् १९९७ मा बेलायतको लन्डनमा भएको थियो । डेभिड हार्डिङले स्थापना गरेको यो समूह १.६ मिलियन डलरबाट स्थापना गरिएको थियो । यो कम्पनी अहिले विश्वव्यापी भएको छ, र यसका कार्यालयहरु विश्वका विभिन्न स्थानमा रहेका छन् । यसका कार्यालयहरु अहिले हङकङ, सिड्नी, सानफ्रान्सिस्को, न्यूयोर्क, टोकियो र जुरिचमा छन् । विगत १० वर्षदेखि यसको औसत प्रतिफल १९ प्रतिशतको हाराहारीमा रहेको छ । डेभिड हार्डिङ अहिले बेलायतका ३४औं धनी व्यक्तिको सूचीमा छन् ।