काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो धेरै मत ल्याएका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणको निर्वाचन लड्ने भएका छन् ।
बढी मत ल्याएका अर्का सभापतिका उम्मेदवार शेरबहादुर देउवासँग कोइराला दोस्रोपटक चुनाव लड्ने भएका हुन् ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्न तयार भएको बताए।
यता, दोस्रो चरणको चुनावमा देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
तीन उम्मेदवारको समर्थन पाएका देउवाको जित सुनिश्चितजस्तै छ ।
शेखरले अहिले हात्तीसारस्थित एक होटलमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गर्दै आफू चुनाव लड्ने घोषणा गर्दैछन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको छ ।
सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको थियो । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।