आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा रहेको २० फिट लामो लिङ्गको आकारको रहस्यमय ढुङ्गा दुई हजार ७० वर्ष पुरानो हो । यो पहिलेको अनुसन्धानभन्दा एक हजार वर्ष पुरानो हो। वासिङ्टन स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यी मोनोलिथहरूबारे हालै गरेको अनुसन्धानमा यस्तो खुलासा गरेका हुन् । उनीहरुले चेल्बा टुटुटी, साकारो सोडो र सोडितीमा बनेका यी ढुङ्गाको आधारबाट फेला परेको चारकोलको नमूना परीक्षण गर्दा यस्तो पत्ता लागेको हो ।
यी तीनै ठाउँहरू इथियोपियाको गेडियो जोन क्षेत्रमा पर्छन् । यस क्षेत्रमा अफ्रिकाका सबैभन्दा धेरै महापाषाणकालका मोनोलिथहरू छन् । त्यहाँ ६० ठाउँमा १० हजार स्मारकहरू छन्। साकारो सोडोमा निर्माण गरिएका स्मारकहरू सम्भवतः ईसापूर्व ५० मा निर्माण गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। यसअघि यी मोनोलिथहरु ११ ईसापूर्वमा बनाइएको भन्ने मान्यता थियो । यो खोजपछि अब लिङ्ग जस्तो आकारका यी ढुङ्गाको वास्तविक उमेर पत्ता लागेको छ ।
अनुसन्धानकर्ताहरूले यी ढुङ्गाको उमेर पत्ता लगाउन सके पनि यिनलाई बनाउनुको उद्देश्य के हो भन्ने खुल्न सकेको छैन । यद्यपि विज्ञहरूका अनुसार केही ढुङ्गाहरू चिहानका रूपमा प्रयोग गरिएको थियो। तर केही विज्ञहरुले यी ढुङ्गाहरु एक पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरणको सम्झनामा बनाइएको बताएका छन् ।
यो अनुसन्धान पुरातत्वविद् अशेन्फी जेना र उनको टोलीले गरेको हो । डा जेनाका अनुसार साकारो सोडो संसारमा सबैभन्दा कम अध्ययन गरिएको साइट हो। ‘हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ’, उहाँले भन्नुभयो। यो टोली पहिलो पटक सन् २०१३ मा आएको थियो र त्यसपछि साइट अध्ययन गर्ने निर्णय गर्यो। यति सानो ठाउँमा यति धेरै स्मारक हुनु आफैँमा स्तब्धकारी भएको उहाँले बताउनुभयो । विज्ञहरूले सबै प्रमाणहरू जाँच गरेपछि यी ढुङ्गाहरू विभिन्न उद्देश्यका लागि प्रयोग भएको पत्ता लगाए।