७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिप दुर्घटनाको खोजी भएन, मनपरी तवरले गाडी गुडाइँदै



अ+ अ-

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा सवारीसाधन सञ्चालन भए पनि जिल्लामा रुट परमिटबिना सञ्चालन हुँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाका तीन खण्डमा गुडिरहेका सवारीसाधनमाथि कडा निगरानी गर्ने भएको छ ।

जिल्लाभित्रै छोटो दूरीमा सञ्चालन हुँदै आएका सवारीसाधन सञ्चालनका लागि सडक विभागले कुनै पनि खण्डमा नदिएको रुट परमिट बताउँदै आएको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाले अबका दिनमा सर्केगाडदेखि सलीसल्लासम्मको ११ किलोमिटर, सिमकोटदेखि खार्पुनाथसम्मको १२ किलोमिटर र चीनको हिल्सा नाकादेखि नाम्खा गाउँपालिकाको ढाँणकेर्मीसम्मको ७४ किलोमिटरमा सवारीसाधन सञ्चालन हुँदै आएका दुई दर्जनभन्दा बढी सवारीसाधनमाथि कडा निगरानी गर्ने जनाएको छ ।

जिल्लामा सञ्चालन हुँदै आएका सवारीसाधनको दुर्घटना बिमा, चालकको मापसे जाँच, लाइसेन्समा जिल्ला प्रशासन हुम्लाले कडा निगरानी गर्ने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । प्रजिअ भट्टराईले भन्नुभयो, “रुट परमिटबिना सवारीसाधन गुडाइनु, मापसे गरी लापारवाहीका काराण सवारी चलाउँदा दुर्घटनाको जोखिम बढी हुन्छ ।”

गएको असार ३ गते खार्पुनाथ गाउँपालिकाको याङचुबगरको बेडुबिसौनामा जिप दुर्घटनामा परी ११ को मृत्यु हुँदाको विषयमा जिल्ला प्रशासन कार्यालय हुम्ला अन्योलमा रहेको छ । जिप दुर्घटना भएको एक महीना बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय हुम्ला, स्थानीय सरकार, जिल्लास्थित राजनीतिक दलहरुले जिप दुर्घटनाको विषयमा चासो नदेखाएको पाइएको छ ।

के कति कारणले जिप दुर्घटना भएको हो भनेर खोजीनिती गर्न जिल्ला प्रशासन कार्यालय पछि सरेको छ । मृतकका आफन्तले क्षतिपूर्ति पाएका छैनन् नै, मृतकको खोजी कार्य पनि भएको छैन र शव पनि भेटिएको छैन । जिल्ला प्रशासन हुम्लाले जिप दुर्घटनाको विषयमा चुप लागेर बस्दा पिडीत राहत पाउनबाट वञ्चित भएका छन् ।

असार ३ गते खार्पुनाथ गाउँपालिका उपाध्यक्षसहित ११ जनाको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । मृतक ११ मध्ये दुई जनाको मात्र शव फेला परेको थियो ।

प्रजिअ भट्टराईले आफू जिल्लामा नयाँ आएको र सबै गतिविधि बुझेर प्रक्रिया अगाडि बढाउने बताउनुभयो । कर्णाली करिडोरको हिल्सादेखि कालिकोट खुलालुसम्म २८०.५६ किलोमिटर रहेको सडक आयोजनाले जानकारी दिएको छ । भर्खरै सञ्चालन भएको सर्केगाड–सलिसल्लासहित तीन खण्डको ९६ किलोमिटर सडकमा सवारीसाधन सञ्चालन भएको छ । हिल्सादेखि सिमकोटसम्म ९५ किमीमध्ये ९४ किमी ट्र्याक खुलेको छ  भने च्याछडा भिर फुटाउन ढिलाइ भएकाले एक किमी ट्र्याक खोल्न बाँकी छ । खार्पुनाथदेखि छारेसम्मको १५ किलोमिटरमध्ये आठ किलोमिटर ट्र्याक खुलेको छ । यसैगरी छारेदेखि सलीसल्लासम्मको २३ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोलिएको र अन्य बाँकी काम सञ्चालन हुँदै गरेको सडक आयोजनाले जानकारी दिएको छ ।

अहिले यो सडकमा चीनको तिब्बतबाट ल्याइएका सवारीसाधन सञ्चालन भएका छन्  । सवारी सञ्चालनका लागि ‘रुट परमिट’ दिइएको छैन । यो क्षेत्रमा सबै सवारीसाधन अवैधानिकरूपमा सञ्चालन भइरहेकोले जिल्ला प्रशासन हुम्लाले बुझेर छलफल गर्ने प्रजिअ भट्टराईले जानकारी दिनुभयो । त्यस्तै, सिमकोटदेखि खार्पुनाथसम्मको १२ किलोमिटर सडकमा पनि नियमित सवारीसाधन सञ्चालन भइरहेका छन् ।

विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रमले ट्र्याक खोलेको यो सडकमा पनि जिप र ट्र्याक्टर गरी एक दर्जनभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् । यो सडकमा सवारीसाधन सञ्चालनका लागि अनुमति नदिइएको पाइएको छ ।