• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेकपामा सत्ताको दृष्टिदोष : कांग्रेस



काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपाको राजनीतिक दस्तावेजमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा दृष्टिदोष देखाएको आरोप लगाएको छ । कांग्रेसले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै केही दिनअघि नेकपाले सार्वजनिक गरेको राजनीतिक प्रतिवेदनप्रति लक्षित गरेर नेकपाको कांग्रेसलाई हेर्ने दृष्टिमा दोष रहेको आरोप लगाएको हो । नेकपाको राजनीतिक दस्तावेजमा नेपाली कांग्रेस पुँजीपति वर्गको पार्टी भएको र उसले दलाल, नोकरशाही पुँजीपति वर्गको मुख्य हिस्साको प्रतिनिधित्व गर्ने जिकिर गरेको थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसलाई हेर्ने सत्तारूढ नेकपाको दृष्टिकोण देखेर दया लागेको भन्दै नेकपाको राजनीतिक प्रतिवेदनमाथि कडा टिप्पणी गरेका हुन् । उनले नेकपाको प्रतिवेदनबारे भने, ‘अहिलेलाई केवल यति टिप्पणी गरौं, त्यो दस्तावेजमा कांग्रेसबारे इमानदार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ, दृष्टिदोषमाथि केवल दया मात्र, म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु ।’

सरकारी जग्गा कब्जा नैतिकताविपरीत

कांग्रेसले सत्तारूढ दलबाटै सरकारी जग्गा कब्जा हुनु नियम र नैतिकताविपरीत भएको समेत बताएको छ ।

‘सत्तारूढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकताविपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्मित र दुखित तुल्याएको छ,’ प्रवक्ता शर्माले भने । उनले सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीतिनियमको पालनामा स्वयं सत्तारूढ दलले गम्भीरता राख्दैन भने अरूका लागि उपदेशको नैतिकता कारुणिक बन्ने जनाए ।

प्रवक्ता शर्माले गम्भीर गल्तीप्रति क्षमा याचना गर्दै नेकपालाई तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीतिनियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउनसमेत आग्रह गरे ।

कांग्रेसले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामती सेवाको गठन, सञ्चालन र संवादका सर्त’सम्बन्धी विधेयकको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत भएको समेत भनेको छ ।कांग्रेसले ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने तर घुमाउरो ढंगले प्रतिबन्धित नै गर्ने नियतसँग सम्झौता गर्न भने नसकिने जनाएको छ ।

कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्थासँग मुलुकको समृद्धिका लागि महत्वपुर्ण सहयात्री हुने तर तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमविरुद्ध रहनेसमेत भनेको छ ।
‘जम्मु–काश्मीर’को विषयमा देशको धारणा नै कांग्रेसको धारणाप्रवक्ता विश्वप्रकाश शर्माले ‘जम्मु–काश्मीर’ को विषयमा पार्टीको छुट्टै धारणा नभएको भन्दै देशको धारणा नै कांग्रेसको धारणा भएको बताए ।
पत्रकारहरूको भारत सरकारले जम्मु-काश्मीरले प्राप्त गर्दै आएको विशेष दर्जा खारेज गरिदिएको विषयमा कांग्रेसको धारणा के हो ? भन्ने जिज्ञासामा प्रवक्ता शर्माले त्यस्ता विषयमा राजनीतिक दलभन्दा सिंगो राष्ट्रको धारणा बन्नुपर्ने भन्दै कांग्रेसको छुटै धारणा नरहने जनाएका हुन् । तर, राष्ट्रको धारणा बन्ने प्रक्रियामा भने प्रमुख प्रतिपक्षीको सहभागिता हुनुपर्ने र सबै दलले बोक्ने मनोविज्ञान र संस्कृतिलाई पनि समेट्नुपर्ने प्रवक्ता शर्माले बताए ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।