११ आश्विन २०८१, शुक्रबार
,
Latest
भैरहवा र पोखरा विमानस्थ्ल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो… न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई सुरक्षामा हेलिकप्टर र साना जहाज मुख्य चुनौती



अ+ अ-

काठमाडौँ — नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ । 

हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन (ईयू) ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ । प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ ।
यस अवधिमा १० वटा हेलिकप्टर दुर्घटना भएका र त्यसमा पर्यटनमन्त्रीसहित ३० जनाको ज्यान गएको थियो । नेपालमा दुर्गम तथा पहाडी भेगका लागि चार एयरलाइन्स र १० वटा हेलिकप्टर कम्पनी छन् । दुर्गममा नियमित उडानको तुलनामा हेलिकप्टर चार्टर उडान बढिरहेको महानिर्देशक पोखरेलको भनाइ छ । ‘नेपालमा दर्ता भएका ५७ सय किलो हाराहारी तौल वा त्योभन्दा कम तौलका जहाज र हेलिकप्टरको दुर्घटना दर बढी छ,’ उनले भने । पछिल्लो पटक ईयूको चासो हेलिकप्टरतर्फ मोडिएको छ ।
हेलिकप्टरले नियमित उडान नगर्ने भएकाले यसमा उसको चासो आवश्यक नरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै प्राधिकरणले पत्र लेखेको पोखरेलले बताए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले ५७ सय किलोग्रामभन्दा कम तौल भएका साना जहाजको रेकर्ड राख्ने नगरेको उनको भनाइ छ । ‘ईयूलाई हामीले यो कुरा भन्यौं,’ उनले भने, ‘त्यसैले हामी उसको ट्र्यापमा परिसक्यौं ।’ ईयूले सन् २०१० देखि २०१२ सम्म भएका ५ वटा साना जहाज दुर्घटनामा ८९ जनाको मृत्यु भएपछि नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो ।
उसले पछिल्लो पटक नेपालको हवाई सुरक्षामा दुई विषय उठाउँदै आएको छ । एउटा, नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउँदै नियामक र सेवा प्रवाह गर्ने दुई निकाय बनाउनुपर्ने उसको भनाइ छ । हरेक वर्ष भइरहेका हेलिकप्टर दुर्घटनाको दर घटाउनुपर्नेमा पनि उसले जोड दिएको छ ।
आफू मन्त्री भएर आएलगत्तै ईयूले उठाएको ‘प्राधिकरणलाई दुई संस्थामा विभाजन गर्ने’ विषयमा निर्णय गरेको पर्यटनमन्त्री भट्टराईले बताए । हेलिकप्टर कम्पनीमा पाइलटहरूले संस्था फेरिरहने विषय पनि समस्याका रूपमा रहेको प्राधिकरणको भनाइ छ । अस्वस्थ प्रतिस्पर्धाले हवाई सुरक्षामा असर पुर्‍याइरहेको महानिर्देशकपोखरेलले बताए ।
‘अब दुर्घटना पछि होइन, अघि नै पाइलटको अनुमतिपत्र रिभोक गर्ने गरी एक्सनमा जान्छौं,’ उनले भने । नेपालमा भएका हवाई दुर्घटनाको ५९ वर्षको तथ्यांकअनुसार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल सर्वाधिक जोखिमयुक्त सूचीमा परेको छ ।
यस अवधिमा लुक्लामा ९ वटा हवाई दुर्घटना भएका छन्, जसमा २३ जनाको मृत्यु भएको छ । लुक्लापछि दुर्घटना भई अत्यधिक मानवीय क्षति भएका पहाडी विमानस्थलमा जोमसोम, जुम्ला, सिमिकोट र डोल्पा छन् । मुलुकभर ५१ वटा विमानस्थल छन् ।
सन् २००९ देखि २०१८ सम्म १० वर्षको अवधिमा नेपालमा सबैभन्दा धेरै हवाई दुर्घटनाको कारण कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन (सिफिट) देखिएको छ । पाइलटको कमान्डमा रहेको कुनै पनि उडानयोग्य विमान अन्जानवश बादलभित्र छिरेर दुर्घटनामा पर्नॅ नै सिफिट हो । यस्तो अवस्थामा पाइलटले सही निर्णय गर्न सक्दैनन् । जसले दुर्घटना हुन्छ । १० वर्षमा सिफिटका कारण ७४ प्रतिशत दुर्घटना भएका छन् ।
दोस्रो कारणमा लस अफ कन्ट्रोल इन फ्लाइट छ । यसबाट २६ प्रतिशत दुर्घटना हुने गरेको छ । रनवे एस्कर्सन (धावनमार्गमा चिप्लिने) पनि अर्को कारण हो । यसको दर अत्यधिक देखिए पनि मानवीय क्षति भएको देखिएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रतिवेदन सार्वजनिक गरेका हुन् । (कान्तिपुर दैनिकबाट साभार)