४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

चिनी आयात अझै खुलेन

चिनी आयात अझै खुलेन
अ+ अ-

काठमाडौँ । चिनी आयातमा लगाएको परिमाणत्मक बन्देज साउनबाट स्वतः हटे पनि सरकारले परिपत्र गरेको छैन । व्यवसायीका अनुसार परिपत्र जारी नहुँदा आयातमा अन्योल नै छ ।

‘बन्देज खुला भएको पत्रपत्रिकाबाट मात्रै जानकारी पायौं । सरकारबाट खुला भएको कुनै परिपत्र जारी भएकै छैन,’ एक व्यवसायीले भने, ‘यस्तो अवस्थामा आयात गर्न मुस्किल छ ।’ भन्सार विभागको तथ्यांकअनुसार साउन २९ गतेसम्म कुनै नाकाबाट चिनी भित्रिएको छैन ।

‘थोरै परिमाणमा मिस्री र रक्सीमा प्रयोग हुने भेली भित्रिएको छ,’ भन्सार विभागका एक अधिकारीले भने, ‘चिनी भित्रिएको छैन ।’ चिनी उद्योग संघका अध्यक्ष शशि अग्रवाल पनि परिपत्र नभएको बताउँछन् । ‘परिपत्र नहुनु बन्देज कायमै राखेको जस्तो हो । उद्योगीसँग पर्याप्त मौज्दात रहेकाले आयात गर्नुपर्ने आवश्यकता पनि छैन,’ अग्रवालले भने ।

परिपत्रबाहेक भन्सार प्रक्रिया पनि झन्झटिलो भएकै कारण व्यवसायीहरूले आयात गर्न चाहेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार सरकारले चिनी आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ । सोही नीतिअनुसार चालु आर्थिक वर्षबाट भन्सार दर पुनः १० प्रतिशतले वृद्धि गरिएको छ ।

‘चिनीमा भन्सार शुल्क १५ प्रतिशत थियो । उद्योगीहरूको बिक्री नभएपछि ३० प्रतिशत हुँदै नयाँ आर्थिक वर्षबाट ४० प्रतिशत पुर्‍याइएको छ,’ उनले भने । विभागका अनुसार चिनी आयात गर्दा व्यवसायीहरूले प्रतिकिलो ५१ रुपैयाँ मूल्यांकन गर्नुपर्छ । भन्सार दर, ढुवानी खर्च र १३ प्रतिशत भ्याट जोडदा आयातित चिनीको मूल्य पनि प्रतिकिलो ७१/७२ रुपैयाँ पुग्छ,’ महानिर्देशक गौचनले भने, ‘आयात महँगो हुँदा आयातकर्ताले इच्छा देखाएका छैनन् । आयातमा उत्साह छैन ।’

सरकारले चिनी व्यवसायीलाई संरक्षण गर्ने नाममा गत वर्ष भदौ ३१ को मन्त्रिपरिषद् बैठकले वार्षिक एक लाख टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा चिनी सस्तो भई नेपालमा अत्यधिक आयात गरेर मौज्दात गरिसकेका केही व्यवसायीलाई उक्त निर्णयले धेरै फाइदा भएको थियो । मन्त्रिपरिषदको उक्त निर्णयले चिनी महँगिएको थियो ।

प्रवर्द्धनको नाममा आयात परिमाणात्मक बन्देज गरेका प्रधानमन्त्री ओलीले ८ महिनापश्चात् व्यवसायीले झुक्याएको स्विकारेका थिए । ‘चिनी स्टक भयो, पाकिस्तानको आयात रोकिदिनुपर्‍यो भन्नुभयो । होला त नि भनेर मैले आयात रोकिदिएँ,’ उनले उद्योग परिसंघको कार्यक्रममा भनेका थिए, ‘पछि त उहाँहरूले ८५ रुपैयाँमा बेच्न थाल्नुभयो, त्यो पनि नपाएर १०५ रुपैयाँमा किन्न बाध्य बनाए ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताएको सातापछि पुनः परिमाणत्मक बन्देज लगाउने निर्णय गरेका थिए । सरकारले बन्देज लगाएको दुई साता नबित्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिनी क्षेत्र एक खालको अराजकता भएको बताएका थिए ।

‘चिनी उत्पादक र चिनी व्यापारी एउटै हुनु नै चिनी क्षेत्रको समस्या हो । व्यापारी र मिलवाला एउटै भएपछि कुरा बिग्रिएको छ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भनेका थिए, ‘यो एक खालको अराजकता थियो । यसतर्फ हामी गम्भीर छौं । सरकारको कुरा त्यही हो ।’ तर, पनि बन्देज यथावत् नै थियो ।

नयाँ आर्थिक वर्ष साउन १ गते भने स्वतः खुला भएको हो । यद्यपि खुला भएको परिपत्र भने जारी भइनसकेको व्यवसायीको दाबी छ । आपूर्ति विभागका महानिर्देशक गौचनले पनि अर्को आदेश नहुन्जेलका लागि खुला नै भएको बताए । विभागका अनुसार हाल घरायसी र उद्योग गरी मासिक २० हजार टन चिनी खपत हुन्छ । दसैं, तिहार र छठका लागि दुई महिना थप १० हजार टन चाहिन्छ ।

अहिले उद्योगीसँग करिब ८५ हजार टन मौज्दात छ । खुद्रा बजारमा करिब २५ हजार टन रहेको जनाएको छ । दसैंतिहार र नयाँ क्रसिङ नहुन्जेलसम्म करिब ४ महिना करिब १ लाख टन चाहिन्छ । बजारलाई थप सुरक्षित गर्न १ लाख २५ हजार टन चाहिन्छ । ‘उद्योगी र खुद्रा गरी करिब १ लाख ५ हजार टन मौज्दात छ । चाडबाडमा करिब २० देखि ३० हजार अपुग देखिन्छ,’ गौचनले भने ।

विभागले वैधानिक प्रक्रियाबाट आयात गर्दा महँगो परेको बताए पनि चिनीको तस्करी भइरहेको व्यवसायीहरू बताउँछन् । ‘भारतमा प्रतिकिलो ३४ रुपैयाँ पाइन्छ । तस्करीबाट आयात गरिएको चिनी ६२र६३ रुपैयाँमै पाइन्छ । खुला सिमानाका कारण तस्करी मौलाएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘तस्करीबाट आयातित चिनी मौज्दात छ । जसले गर्दा उद्योगीको चिनी बिक्री हुन सकेन ।’

मौज्दातका लागि सरकारले बढीमा १० हजार टन मात्रै आयात गर्नु उचित हुन्छ । स्वदेशी उत्पादन पर्याप्त मौज्दात रहेको जनाउँदै मन्त्रालयमा समेत लबिङ सुरु गरिसकेका छन् । संघका उपाध्यक्ष राजकुमार अग्रवालले पठाएको सरकारले आफैं वा नेपाल सरकारको अर्ध स्वामित्वमा रहेका निकायहरूमार्फत बफर स्टक राख्नका लागि बढीमा १० हजारदेखि १५ हजार टन चिनी आयात गर्न उपयुक्त हुने भनिएको छ ।

व्यवसायीको लबिङसँगै सरकारले पनि सरकारी निकायबाटै आयातका लागि छलफल अघि बढाएको छ । ‘आपूर्तिको सन्दर्भमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति र कृषि विकास मन्त्रालयबीच व्यापक छलफल भइरहेको छ । छलफलमा सरकारी निकायबाटै आयातको कुरा छ । तर, निर्णयमा पुगिसकेको अवस्था छैन,’ मन्त्रालयका एक अधिकारीले भनेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ  ।