काठमाडौं । यमनका हुथी विद्रोहीले जिम्मेवारी लिएको एक ड्रोन आक्रमणले एउटा साउदी तेल तथा ग्यास उत्खनन् गर्ने मैदानमा आगलागी भएको छ ।यद्यपि, आक्रमणमा कुनै हताहती नभएको र तेल उत्पादन पनि अवरुद्ध नभएको सरकारी उर्जा कम्पनी अरम्कोले बताएको छ ।
शनिबार विहान हुथी विद्रोहीका सैन्य प्रवक्ताले आफूले शेबाहको तेल क्षेत्रमा १० ड्रोनको प्रयोग गरेर आक्रमण गरेको बताए । उनले यो आक्रमण साउदी अरबभित्र हुथीले गरेको सबैभन्दा ठूलो आक्रमण भएको पनि जानकारी दिए ।
शेबाहले दैनिक दशौँ लाख कच्चा तेल उत्पादन गर्छ र यो हुथी नियन्त्रणमा रहेको उत्तरपश्चिम यमनबाट हजार किमी टाढा छ ।त्यस क्षेत्रमा १४.३ अर्ब ब्यारेल तेल भण्डार छ ।
पछिल्ला महिनाहरुमा यमनको विद्रोही समूहले छिमेकी साउदी अरबको भू–भाग भित्र मिसाइल र ड्रोन आक्रमण बढाएको छ । तिनको आक्रमणको निशाना साउदी हवाई आधार र अन्य संयन्त्र हुने गरेको छ ।
साउदी अरबले यमनको राजधानीसमेत महत्त्वपूर्ण बन्दरगाह कब्जा गरिरहेका हुथीविरुद्ध केही वर्षदेखि हवाई आक्रमण गरिरहेको छ । त्यस विरुद्ध हुथीले समय समयमा साउदी अरबभित्र सानो आकार मिसाइल र ड्रोन आक्रमण गर्ने गरेको छ ।
हुथी विद्रोहीले संचालन गरेको टेलिभिजनले आफ्ना प्रवक्ताको भनाई उदृत गर्दै भनेको छ, ‘यमनमाथिको दमन कम नभए ‘थप गम्भीर र ठूलो आक्रमण’ हुनेछ । ’