काठमाडौं । सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा जारी विश्व पुलिस फायर गेम्समा तेस्रो स्वर्ण पदक जितेका छन् ।
सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आइतबार भएको १० हजार मिटर ट्रयाक एन्ड फिल्डमा स्वर्ण पदक जितेका हुन्। विश्व पुलिस फायर गेम्समा निमेशको यो तेस्रो स्वर्ण पदक हो । उनले यसअघि हाफ म्याराथन र १० किलोमिटर क्रस कन्ट्रीमा स्वर्ण पदक जितेका थिए ।
निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पूरा गरे। आयोजक चीनका नुफेङ दाई दोस्रो र भारतका गोभा राम दोस्रो भए। नुफेङले निर्धारित दूरी ३१ मिनेट ३५ सेकेन्ड र गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए। यो स्पर्धामा ५५ देशका ५५ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा निमेशले सिंगापुर पुलिस फोर्सबाट सहभागिता जनाएपनि नेपाली पासपोर्ट भएकाले उनको परिचय नेपाल नै उल्लेख छ।