वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्या विश्वका लागि रहस्य बनेको छ । अमेरिकाको नेसनल आर्काइभले बुधबार अमेरिकी अनुसन्धानसम्बन्धी १५ सय दस्तावेज सार्वजनिक गरेको छ । जोन एफ केनेडीको हत्या सन् १९६३ नोभेम्बर २२ मा भएको थियो । यी जासुसी दस्तावेजबाट केनेडीको हत्यारा लि हार्वे ओसवाल्डले केनेडीको हत्या हुनुभन्दा दुई महिनाअघि रुसी गुप्तचर एजेन्सी केजिबीका एजेन्टसँग भेट गरेको खुलासा भएको छ ।
अमेरिकी जासुसी एजेन्सी सिआइएको मेमोमा एक अज्ञात सूचनादाताले अष्ट्रेलियामा अमेरिकी दूतावासका अधिकारीहरुलाई सोभियत सङ्घका तर्फबाट केनेडीको हत्या गरिने जानकारी दिएको खुलासा गरिएको छ । तर उक्त जासुसी सूचना सिआइएलाई कहिल्यै दिइएन । एक मेमोमा अष्ट्रेलियाबाट टेलिफोनमा भएको कुराकानीको पूर्ण विवरण मागिएको भनिएको छ । सन् १९६२ को सो फोन कलका बारेमा सिआइएसँग कुनै जानकारी छैन ।
ओसवाल्ड सेप्टेम्बर २३ मा सोभियत दूतावासमा
यी दस्तावेजले केनेडीको हत्याका बारेमा नयाँ जानकारी दिएक छन् तर यो विवाद अझै सुल्झिएको छैन। यी १५ सय फाइलले केनेडीको हत्या हुनुअघि ओसवाल्ड र सोभियत जासूसहरू बीचको बैठक र कुराकानी प्रकट गर्दछन्। दस्तावेजअनुसार मेक्सिको सिटीमा कैद गरिएको फोन कलले ओसवाल्ड सेप्टेम्बर २३ मा सोभियत दूतावासमा थिए र त्यहाँ केजिबी अधिकारी भ्यालेरी भ्लादिमिरोभिचसँग भेटेका थिए भन्ने जानकारी दिएको छ ।
‘ओसवाल्डले अक्टोबर १ मा सोभियत दूतावासलाई फोन गरे र आफ्नो नाम दिए’, मेमोमा भनिएको छ । उसले टुटेफुटेको रुसी भाषामा बोलेको थियो । सो मेमोमा केजिबी अधिकारीको जवाफ पनि दिइएको छ । सो फोन कलका बारेमा सो मेमो सन् १९६३ नोभेम्बर २३ को हो । त्यसको एक दिनपछि ओसवाल्डलाई केनेडीको हत्याको आरोप लगाइएको थियो । केनेडीको हत्या भएको दुई दिनपछि अर्को सूचनादाताले अष्ट्रेलियामा अमेरिकी नौसैनिक अधिकारीलाई फोन गरेर केजिबीको हात रहेको बताएको थियो ।