५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविका समर्थकहरुले काठमाडौंको माइतिघरमा पनि गरे नाराबाजी



अ+ अ-

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनाको पक्राउको बिरोधका आज काठमाडौंमा प्रर्दशन गरिएको छ ।

काठमाडौंको माइतिघरमा जम्मा भएका रविका समर्थकहरुले लामिछाने, पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको रिहाइको माग गरेका छन् । उनिहरुले लामिछाने लगायतका समूहलाई राज्यले फसाउने खेल खेलेको भन्दै सरकार विरुद्ध नाराबाजी समेत गरेका छन् ।

उनिहरुले रवि आउँ देश बचाउँ, रवि दाई जिन्दबाद, नेकपा सरकार मुर्दाबाद र केपी ओली राजीनमा दे लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको माग गरेका छन् । उनीहरुले एसपी मल्लले आफुलाई प्राप्त भिडियोमाथि अनुसन्धान गर्नुको सट्टा मिडियालाई दिएर गलत गरेको भन्दै उनको बर्खास्तीको माग गरेका हुन् ।

उता लामिछानेसहित तीनजनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । मंगलबार बिहान १० बजे नै सरकारी वकिल कार्यालयबाट प्रवेश गराई अदालत लगिएको हो ।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए । एसपी मल्लले पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य रिर्पोटहरुसहित म्याद थपका लागि अदालतमा पेस गरिएको बताए ।

अदालत पेस गरिएकोमा लामिछानेसहित न्यूज २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्की छन् । उनीहरुलाई पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेको छ ।

जिल्ला न्यायाधीश केशव अधिकारीको इजालासमा बहस हुँदैछ ।सरकारी वकिल कार्यालयले पक्राउ परेका लामिछाने र अन्य दुई जनासँग सोमबार वयान लिएको थियो ।

अदालत परिसर बाहिर लामिछानेका समर्थकहरु भेला भएका छन् । अदालतको गेट बाहिर भेला भएको भीडका कारण सो सडक भएर यात्रा गर्नेहरुलाई समस्या भएको छ ।मालपोत चोकदेखि चौबीसकोठीसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।