१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा News Polar डुम्रे–बेँसीसहर–चामे सडक शुक्रबारसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी News Polar सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध News Polar थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी News Polar ट्राफिक कारबाहीः पछिल्लो २४ घण्टामा ६३४ जना सवारीचालक कारबाही News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar एशियाली खेलकुदमा नेपालका चार जुडो खेलाडी पहिलो चरणमै बाहिरिए News Polar नेप्सेमा उपलब्ध सबै वित्तीय उपकरणको कारोबार सञ्चालन गर्न सक्षम छौँ : सुवेदी News Polar जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य

सेती नदीले सातको ज्यान लियो

सेती नदीले सातको ज्यान लियो
अ अ+ अ-

डोटी । डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ ।

पाँच महीनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो व्यक्तिका रूपमा सेती नदीमा डुबेर मृत्यु भयो । शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएको उनको शव नौ दिनपछि फेला परेको थियो ।

त्यस्तै शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा जेठ ५ गते सेती नदीमै नुहाउने क्रममा डुबेर बेपत्ता भइन् । फुपूदिदीको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा गाउँ नजिक रहेको सेती नदीमा बेपत्ता भएकी थिइन् । प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन । यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुबेर बेपत्ता भए ।

गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११ गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुबेर बेपत्ता भएका थिए । उनको शव पनि १३ दिनपछि फेला परेको थियो । आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा बेपत्ता भइन् । मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिइन् । उनको शव पनि अहिलेसम्म फेलापरेको छैन । शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुबे ।

उनको शव डुबेको ठाउँबाट करीब तीन किलोमिटर तल फेला पर्यो । त्यस्तै आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन् । उनको शव पनि अहिलेसम्म फेला परेको छैन । त्यसैगरी यही भदौ १ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुबेर मृत्यु भयो ।

मामाको घर गएकी करिश्मा १ गते आइतबार बिहान करीब १० बजे सेतीमा डुबेकी हुन् । उनको शव बगेको ठाउँबाट करीब एक किलोमिटर तल मटेलामा फेलापरेको थियो । सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक धामीले बताए । उनले भने, “सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो र तीव्र छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति सेती नदीमा छिट्टै डुब्ने गर्छन् ।”

चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुब्ने गरेको उनको भनार्इ छ । नदीमा डुब्नेहरुमा अधिकांश नुहाउने क्रममा डुबेका छन् । सेती नदीमा वर्षेनी स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्कबहादुर शाहीले बताए ।

उनले भने, “नदी छेउछाउका स्थानीयवासी बढी जोखिममा छन, सबै मिलेर जनचेतनामूलक कार्यक्रम गर्न जरुरी भएको छ ।”