२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलित छात्रावास भवन अलपत्र



अ+ अ-

सिरहा । उपभोक्ता समितिको लापरवाहीका कारण प्रदेश नं २ सरकारद्वारा सदरमुकाम सिरहामा निर्माणाधीन दलित छात्रावास भवन अलपत्र परेको छ । प्रदेश सरकारको रु ९० लाखको लागतमा सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस परिसरमा निर्माणाधीन दलित छात्रावास अलपत्र परेको हो ।

आर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माण सकिने गरी निर्माण थालिएको उक्त छात्रावास भवन अलपत्र पर्दा छात्रावास भवनको रु ३९ लाख रकम फ्रिज भएको पूर्वधार विकास कार्यलयका इञ्जिनीयर पशुपति साहले जानकारी दिनुभयो । भवन निर्माणका लागि छुट्याएको बजेटमध्ये हालसम्म रु ४३ लाख खर्च भएको र रु आठ लाखको फनिर्चर खरीद गरिएको उहाँको भनाइ छ ।

अघिल्लै आर्थिक वर्षमा सकिनुपर्ने छात्रावास निर्माणको कार्य चालू आवको करीब डेढ महीना बित्नै लाग्दासमेत काम सम्पन्न हुने कुनै छाँटकाँट नदेखिएको स्थानीयवासीले बताएका छन् । निर्माणस्थलमा निर्माण सामग्री लथालिङ्ग फालिएका छन् भने मजदुरले आउनै छाडेका स्थानीय सीताराम साहले बताउनुभयो । छात्रावास निर्माणका लागि आएको बजेट काम पूरा नभएकाले फ्रिज भएपछि पुनः बजेट आउने वा नआउने अन्योलता बढेको छ ।

दलित अगुवा रामसेवक रामले भन्नुभयो, “प्रदेश सरकारले दलित छात्रावास भवन बनाउन चाहेको छ, तर उपभोक्ता समितिको लापरवाहीका कारण निर्माणकार्य बीचमै अलपत्र पर्दा अन्योलता बढेको छ ।” अधुरो छाडिएको भवनको निर्माणकार्य पूरा गरी छात्रावास सञ्चालनमा ल्याउन प्रदेश सरकारसँग दलित अगुवाले आग्रहसमेत गरेका छन् । निर्माणाधीन भवन अगाडि पानी जमेर खाल्डो बनेको छ । समाजमा छुवाछूतका कारण दलित समुदायका विद्यार्थीलाई बजारमा कोठाभाडा लिएर अध्ययन गर्न समस्या भइरहेको कुरालाई मनन गरी प्रदेश सरकारले प्रदेशका आठै जिल्लामा दलित छात्रावास भवन बनाउन थालेको हो ।