१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी अफगानिस्तानमा ३७ तालिबान लडाकू मारिए



अ+ अ-

शारन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान सुरक्षाबलले तालिबान लडाकू समूहविरुद्ध मङ्गबार राती गरेको सुरक्षा कारबाहीमा ३७ लडाकू मारिएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ । तालिबानको सारा केटा अर्थात रेड यूनिटको समूहले मंगलबार राति मता खान र छिमेकमा पर्ने जुर्मात जिल्ला जोडिने राजमार्गमा रहेको सुरक्षाचौकीमा आक्रमण गरेका थिए ।

सो आक्रमणपछि सुरक्षाबलले गरेको जवाफी कारबाहीमा ३७ तालिबान लडाकू मारिएका प्रान्तीय प्रहरी उपप्रमुख मसुद बबाकारखिलले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । सुरक्षा अधिकारी र तालिबान लडाकूबीच सात घण्टासम्म झडप जारी रहेको थियो । सो झडपको क्रममा सुरक्षाबलका एक जना सदस्य घाइते भएको र उनलाई सेनाको शिविरमा सारिएको जनाइएको छ ।

मारिएका तालिबान लडाकूको शव अफगान रेड क्रिसेन्ट वा स्थानीय गाउँलेलाई हस्तान्तरण गरिने बबाकारखिलले बताएका छन् । पहाडी प्रान्तहरुलाई नियन्त्रणमा लिएर बसेको तालिवान लडाकू समूहले बारम्बार सुरक्षाबलमाथि आक्रमण गर्दै आएका छन् । यस सुरक्षा कारबाहीको विषयमा तालिबानी लडाकू समूहले हालसम्म कुनै टिप्पणी गरेको छैन ।