६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

९७२ स्थान पहिरोको उच्च जोखिममा

९७२ स्थान पहिरोको उच्च जोखिममा
अ+ अ-

गण्डकी । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको लर्सघा बस्ती पहिरोको उच्च जोखिममा छ । दुई महिनाअघि आएको पहिरोका कारण बस्ती जोखिममा परेको हो ।

घरभित्रै पहिरो पसेपछि जोखिममा रहेको यो बस्तीका विषयमा गण्डकी प्रदेशसभामा पनि सांसदले आवाज उठाए । जोखिमको वास्ता नगरी बिनाइन्जिनियरिङ ट्र्याक खोलिएको ग्रामीण सडकका कारण उक्त बस्तीलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने भएको छ ।

स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल एसियाकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि बाढीको उच्च जोखिममा छ । सेतीबेनी बजार वर्षायाममा जहिल्यै सतर्क बस्नुपर्छ । बजार नै अन्यत्र स्थानान्तरणका लागि पहलसमेत सुरु भएको छ । तर स्थानीय अन्यत्र जान मान्दैनन् । गण्डकी प्रदेश सरकारले समेत यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका पनि बाढीको उच्च जोखिममा छ ।

गण्डकी प्रदेशअन्तर्गत ९ सय ७२ स्थान बाढीपहिरोको उच्च जोखिममा छन् । प्रदेश सरकारले वर्षायाममा बाढीपहिरोको जोखिममा परेका बस्तीको पहिचान गरेको छ । जियानेट कनेक्सन कम्पनीसँग सहकार्य गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ती स्थानको पहिचान गरेको मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले बताए ।

कम्पनीले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा बाढीबाट उच्च जोखिममा १ सय ३६ र जोखिममा मात्र २ सय ४९ गरी ३ सय ८५ स्थानलाई उल्लेख गरेको छ । यसैगरी पहिरोका कारण ५ सय ८७ स्थान उच्च जोखिममा रहेको उनले बताए । मन्त्रालयले प्रदेशका ११ वटै जिल्लाका स्थान पहिचान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा कम्पनीले प्रतिवेदन तयार पारेको हो । मन्त्रालयमा बुझाइएको प्रतिवेदनका अनुसार बाढीपहिरोका कारण सबैभन्दा बढी तनहुँ उच्च जोखिममा छ । यहाँका १ सय ११ स्थान जोखिमयुक्त पहिचान गरिएको छ । ४२ स्थान बाढी र ६९ वटा स्थान पहिरोको जोखिममा छन् । यसैगरी कास्कीमा ४९ स्थान बाढी र ५७ स्थान पहिरो गरी १ सय ६, गोरखाका १७ बाढी र ८४ पहिरो गरी १ सय १ स्थान जोखिम क्षेत्रमा छुट्याइएको छ ।

यसैगरी नवलपुरमा ३९ बाढी र २८ पहिरो, स्याङ्जामा २३ बाढी र ७९ पहिरो, मुस्ताङमा १० बाढी र १९ पहिरो, मनाङमा १० बाढी र २३ पहिरोबाट जोखिमयुक्त स्थान छुट्याइएको छ । पर्वतमा १४ बाढी र ५२ पहिरो, बागलुङमा १६ बाढी र ७२ पहिरो, म्याग्दीमा ११ बाढी र ४२ पहिरो र लमजुङमा १८ बाढी र ६२ पहिरोको जोखिममा रहेका स्थानको पहिचान गरिएको छ । नदी, खोलानाला र मोटर बाटोका कारण बढी जोखिम रहेको प्रतिवेदनले देखाएको छ ।

पछिल्लो समय मापदण्डबिना नयाँ खोलिएका सडक र पुराना सडकको स्तरोन्नति गर्ने बहानामा बिनाइन्जिनियरिङ चलाइएका डोजरका कारण पहिरोको सम्भावना बढेको प्रतिवेदनले औंल्याएको छ ।

बढीजसो बाढीपहिरो जाने स्थानलाई आधार मान्दै सोही क्षेत्रलाई सम्भावित जोखिमका रूपमा पहिचान गरिएको भट्टराईको भनाइ छ । ‘सबै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर जोखिमयुक्त क्षेत्रको पहिचान गरिएको हो,’ उनले भने । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति गठन गरिएको हुन्छ ।

सोही समितिले नै राखेको अभिलेख प्रदेश सरकारलाई बुझाउने हो । यसो त स्थानीय तहमा पनि पालिका प्रमुख अध्यक्ष रहने गरी विपद् व्यवस्थापन समिति गठन गरिएको हुन्छ । तर उक्त समितिमा भने खासै अभिलेख नराखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भरपर्दो स्रोत नै जिल्ला प्रशासन कार्यालय हो ।

मन्त्रालयले विपद् पूर्वसूचना प्रणाली स्थापनाका लागि १ करोड रुपैयाँ छुट्याएको छ । उद्धार अभ्यास, उद्धारकर्मीका लागि तालिम, विपद् व्यवस्थापन सामग्री खरिद र सुरक्षाकर्मीका लागि विपद् सामग्रीका लागि मन्त्रालयले ९० लाख रुपैयाँ विनियोजन गरेको छ । दैवी प्रकोप विपद् कोष शीर्षकमा भने बजेट छुट्याएको छैन ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।