१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमन आक्रमण “आत्मरक्षा” का लागि गरिएको हो: युएई



अ+ अ-

अबुधाबी । संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ । युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ ।

यमनी विदेश मन्त्रालयले पनि अन्तर्राष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह गरेको छ । सैनिक गुप्तचर सूचनामा विद्रोहीहरुले गठबन्धन सेनामाथि आक्रमण गर्ने योजना बनाएको पाइएको छ । युएईको विदेश मन्त्रालयले गठबन्धन सेनामाथि आक्रमण हुनुअघि नै विद्रोहीमाथि कारबाही गर्नु परेको जनाएको छ ।

यमनको अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारले भने युएईमाथि जथाभावी यमनी नागरिकमाथि हवाई हमला गरिएको र दर्जनौं निहत्था व्यक्ति मारिएको दाबी गरेको छ । दक्षिणी एडेन शहर र यसको वरपर युएई समर्थित पृथकतावादी विद्रोहीहरुले आक्रमण गरेको यमन सरकारले बताएको छ ।

सरकारी फौजमाथि आक्रमण भयो : यमन

यमनको रक्षा मन्त्रालयले बिहीबार युएईको हवाई आक्रमणबाट करिब ३०० जना यमनी सुरक्षाफौजका सदस्यहरु मारिएका वा घाइते भएका जनाएको छ । एडेन र आसपासको क्षेत्रमा युएईले गरेको हवाई आक्रमणको यमनको रक्षा मन्त्रालयले भत्र्सना गरेको छ ।

एडेन र अब्यानमा गत बुधबारयता मात्र युएईले कम्तीमा १० पटक हवाई हमला गरेको थियो । यमनी सरकारी फौजमाथि साउदी अरेबिया समर्थित गठबन्धनले पनि आक्रमण गरेका छन् । यसैबीच, संयुक्तराष्ट्रसंघले यमनमा भएको पछिल्लो आक्रमणबाट कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको र कम्तीमा ७० जना घाइते भएको जनाएको छ ।

राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान डुजारिकले एडेनका सडकहरु सुनसान भएका र स्थानीय विमानस्थलबाट सबै उडानहरु स्थगित भएको बताए । प्रवक्ता डुजारिकले यमन संकटमा तत्कालै चार अर्ब २० करोड डलर आवश्यक रहेको बताए । यमनमा करिब दुई करोड मानिसलाई मानवीय सहायता जरुरी रहेको राष्ट्रसंघको अनुमान छ ।