१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियामा सात महिनामा चौधसय मारिए



अ+ अ-

अबुजा । नाइजेरिया सरकारले नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणबाट सात महिनाको अवधिमा एक हजार ४६० जनाको मृत्यु भएको जनाएको छ । यसै वर्षको जनवरीदेखि जुलाईसम्मको सात महिनाको अवधिमा सशस्त्र समूहले कम्तीमा ३३० वटा आक्रमण गरेका थिए ।

उत्तरपश्चिम केब्बी राज्यमा भएको सुरक्षाफौजको बैठकमा विगतमा निकै शान्त रहेको यस क्षेत्रमा सुरक्षा खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको थियो । नाइजेरियाका मुख्यसचिव अमिना शामाकीले जुनदेखि जुलाईको अवधिमा हिंसात्मक आक्रमणका घटनामा भने सामान्य कमी आएको बताए । खासगरी, जाम्फारा राज्यमा सशस्त्र डाकु समूहका गतिविधि र पशुपक्षीको चोरीका घटनामा कमी आएको छ ।

जाम्फारा राज्यमा सशस्त्र डकैतीका घटनामा कमी आएपनि मुलुकका अन्य भागमा अपहरण समेतका घटनामा निकै वृद्धि भएको छ । सिन्ह्वाका अनुसार गत शुक्रबार यतामात्र नाइजेरियामा कम्तीमा चारवटा अपहरणका घटना भएका छन् भने करिब ३० जनालाई सशस्त्र समूहले बन्धक बनाएका छन् ।

मुख्यसचिव शामाकीले भने,’अर्को चिन्ताजनक कुरा खुला सिमानाको हो । खुला सीमाबाट साना हतियार सहजै भित्रिने गर्दा हिंसात्मक घटनामा वृद्धि भएको छ । नाइजेरियासँग सीमा जोडिएका युद्धग्रस्त मुलुकहरुबाट हातहतियारका साथै आतंकवाद, सीमापार अपराध, मानवतस्करी, अवैध आप्रवासन समेतका घटना भइरहेका छन् ।’ उनले नाइजेरियाको संघीय सरकारले यी चुनौतीलाई विशेष ध्यानमा राखी सीमा सुरक्षालाई व्यवस्थित तुल्याउन पहल गरिरहेको जानकारी दिए ।

सुरक्षा व्यवस्था सुदृढ गर्न संयुक्त सुरक्षा फौज तत्कालै गठन गर्ने र आगामी अक्टोबरबाट देशव्यापी परिचालन गर्ने योजना नाइजेरिया सरकारले अघि सारेको छ । यसबाट आपराधिक समूहका गतिविधिसम्बन्धी गोप्य सूचना संग्रह गर्न र तत्काल कारबाही गर्न मद्दत पुग्ने मुख्यसचिव शामाकीले बताए ।