काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आगामी २२ सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहले महासभाको साधारण बहसमा २४ सेप्टेम्बरमा सम्बोधन गर्नुहुनेछ । उहाँको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुनेछ ।
न्यूयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनाल विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन २० सेप्टेम्बरमा न्यूयोर्क प्रस्थान गर्नुहुनेछ । उहाँले समकक्षी तथा विभिन्न देशका विशिष्ट व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्याञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह २६ सेप्टेम्बरमा काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्यूजपोलार
२ आश्विन २०८३, शुक्रबार १६:५१
न्यूजपोलार
२ आश्विन २०८३, शुक्रबार १६:५१
२ आश्विन २०८३, शुक्रबार १६:५१








