६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नक्कली तमसुले गाउँका गरिबसँग जबरजस्ती असुल्दै

नक्कली तमसुले गाउँका गरिबसँग जबरजस्ती असुल्दै
अ+ अ-

मलंगवा । साहुले ऋण लगानी गर्छ। तोकेबमोजिम ब्याज असुल्छ। समाजमा परम्परादेखि चल्दै आएको छ यो व्यवस्था। तर यस्ता साहु पनि भेटिए जसले ऋण लगानी गरेर मनलाग्दी ब्याज असुलेको छ। ऋण लिएभन्दा चार गुणासम्म बढी रकम राखेर ऋणीलाई तमसुक गराएको छ। नतिरे धम्की दिएको छ।

प्रशासन लगाएको छ। मुद्दा लगाएको छ। मानसिक तनाव दिएको छ र कतिलाई आत्महत्या गराउन विवश बनाएको छ। कुनै फिल्मका खलनायक जस्ता लाग्ने यस्ता साहु हुन् सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (परदेशी)। उनकै कारण एक–दुई जना मात्र हैन, झन्डै ३ सय जना पीडित बनेका छन्।

लालबन्दी नगरपालिका ३ की दुर्गा चौधरीले कलवारको ऋण तिर्न नसकेपछि तीन वर्षअघि आत्महत्या गरिन्। चौधरीले उनीबाट पति विदेश पठाउन तीन लाख ऋण लिएका थिइन्।

ऋण तिरिसक्दा पनि कलवारले अझै चारगुणा बाँकी रहेको भन्दै तनाव दिएपछि चौधरीले आत्महत्या गरेकी थिइन्। चौधरीले आत्महत्या गरे पनि उनको परिवार ऋणबाट मुक्त भएन। कलवारले दुर्गाका ससुरा श्रीकान्तलाई पनि नियमित दबाब दिन थाले। मानसिक दबाब सहन नसकेपछि श्रीकान्तले पनि आत्महत्या रोजे। ‘खाना खाने बेला पनि टर्चर दिएकै छ। पाहुना आउँदा पनि टर्चर दिएकै छ। त्यसकारण दुर्गा र उनका ससुराले आत्महत्या गरे’, अर्का पीडित हरीशचन्द्र महतोले भने, ‘त्यो परिवार मात्रै होइन कलवारका कारण धेरै जना यस्तै अवस्थामा पुगेका छन्।’

महतो पनि कलवारका ऋणी हुन्। उनले साढे २ लाख ऋण लिएका छन्। तर, कलवारले महतोसँग ४ वटा कागज गराएका छन्। ५० हजार, ११ लाख, १७ लाख र ४५ लाख गरी साढे ७३ लाखको कागज गराएको महतोले बताए। ब्याजसहित तिर्न जाँदा ७३ लाखको कागज देखाएपछि आफ्नो होसहवास उडेको महतोले बताए। उनले भने, ‘पैसा तिर्न नसकेपछि मविरुद्ध परदेशीले मुद्दा दर्ता गराए। ममाथि पक्राउ पुर्जी जारी छ। ऋण नै नलिएको पैसा अब कसरी तिर्ने ? ’

०७२ सालमा सर्लाही हरिपुरकी रीनादेवी साहलाई पनि आर्थिक संकट आइलाग्यो। उनले पतिलाई विदेश पठाउने अठोट गरिन्। तर पैसा थिएन। गाउँमा नाम चलेका साहु कलवारबाट दुई लाख ऋण लिइन्। ‘कलवारले दुई लाखमा पनि ३० हजार कटाएर पैसा दिए’, उनले भनिन्, ‘कागजचाहिँ तीन लाखकै गरे।’ किस्ता तिर्दै जाँदा उनको ऋण बढ्दै गयो। जतिपटक किस्ता तिर्न गयो त्यति नै पटक कलवारले कागज गर्दै ऋण बढाएको उनको दुःखेसो छ।

अहिलेसम्म उनले साहुलाई चार लाख ५० हजार बुझाइसकिन्। तर ऋण चुक्ता हुने छाँटकाँट छैन। ‘किस्ता बुझाउन सासूलाई १० हजार दिएर पठाएकी थिएँ। साहुले उल्टै ३० लाखको ऋण कागजमा ल्याप्चे लगाएर पठाएछन्’, उनले अन्नपूर्णसँग भनिन्, ‘मेरो घरमा अहिले सातवटा तमसुक छन्।’

कलवारले चार लाख ५० हजार बुझाएपछि कागज लिन आउनु भनेको जानकारी उनले दिइन्। ‘कागज लिन बोलाउँथ्यो। तर, छोरीको घरमा छ पछि आउनु भन्दै फर्काउँथ्यो’, उनले रुँदै भनिन्, ‘मलाई उसले एकजना १२र१३ वर्षको केटी पठा म तेरो कागज पनि दिन्छु त्यो केटीलाई पैसा पनि दिन्छु भन्थ्यो। मैले कहाँबाट पठाऔं भन्दा गाउँमा होलान् नि भन्ने गरेको थियो।’ साहुले अझै १४ लाख तिर्न बाँकी रहेको बताउने गरेका छन्। ‘लिएको भन्दा २० गुणा ऋण बढेपछि भएको दस धुर जग्गा बेचें’, उनले भनिन्, ‘अहिले नारायणगढमा आएर काम गर्दै बसेकी छु।’

कलवारबाट ऋण लिएर पीडा भोगेका केही दृष्टान्त मात्र हुन् यी। उनीसँग २ सय ९९ जनाले ऋण लिएको पीडितको दाबी छ। पीडितहरू अहिले संघर्ष समिति नै गठन गरेर कलवारको भण्डाफोर अभियानमा जुटेका छन्। उनीहरूका अनुसार समितिमा १ सय ५० जना जोडिएका छन्। सबै पीडितका ऋण जोड्दा कलवारबाट १ करोड ९ लाख २१ हजार लिएको देखिन्छ। त्यसमध्ये पटकपटक गरेर एक करोड ४७ लाख चार हजार तिरिसकेको पीडितको दाबी छ।

पैसा बुझाउन जाँदा दुर्व्यवहार

लालबन्दी–१ की फात्मा खातुनले कलवारसँग एक लाख ऋण लिइन्। साहुले त्यसबाट २३ हजार घटाएर दिए। पतिलाई विदेश पठाउन पैसा अत्यावश्यक परेपछि खातुनले २३ हजार काटे पनि ऋण लिन तयार भइन्। तर, साहुले कागजचाहिँ तीन लाखको गरे। छोरालाई किस्ता बुझाउन पठाउँदा उल्टै पैसा लिएको कागज गरेर पठाएको उनको दुःखेसो छ। ऋण बढाएर कलवारले पीडा त दिएकै थिए। खातुन उनको दुर्व्यवहारमा पनि परिन्। ‘किस्ता बुझाउन जाँदा मेरो हात समायो’, उनले भनिन्, ‘शरीरमा छामछुम गर्न खोज्यो।’

लालबन्दीकी पारोदेवी चौधरीले कलवारसँग २ लाख ऋण लिइन्। उनले मासिक १०÷१० हजारका दरले कलवारलाई पाँच लाख दिइसकेकी थिइन्। तर, साहुले उनलाई छाडेनन्। ऋण चुक्ता गर्न पटकपटक तनाव दिइरहे। ‘मेरो एक तोला सुन र ४० तोला चाँदी खोसिदिए’, उनले भनिन्, ‘अझै १० लाख ऋण छ भन्छन्। अब म के गरूँ ?’

बन्दुक तेर्स्‍याएर १० लाखको कागज

कलवारका ऋणी सन्फी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। ऋण नतिरेको आरोपमा कलवारले उनीविरुद्ध अदालतमा मुद्दा हालेका छन्। सन्फी भने आफूले ऋण चुक्ता गरिसकेको दाबी गर्छन्। ‘छोरालाई विदेश पठाउन ५० हजार लिएको थिएँ। त्यतिबेला उनले दुई लाख ५० हजारको कागज गरेका थिए। मैले किन गरेको भन्दा गाउँघरमा यस्तै हो। तर, तिम्रो ५० हजार नै साँवा कायम हुन्छ भनेका थिए’, सन्फी भन्छन्, ‘तर, मैले ९० हजार तिरिसकेको छु।’

उनको ऋण अहिले पनि १० लाख भएको प्रमाण साहुले देखाउँछन्। त्यही आधारमा सन्फीविरद्ध अदालतमा मुद्दा पनि हालेका छन्, कलवारले। ‘मलाई उसको घरमा बोलायो। चिया खुवायो। एकछिनमा एउटा लेखनदास बोलाएर १० लाखको कागज गरायो’, उनी भन्छन्, ‘त्यसरी कागज बनाउने भनेर दुई घण्टा त संघर्ष चल्यो। तर, पछि बन्दुक तेर्सायो। मलाई डर लाग्यो र तमसुकमा ल्याप्चे हानेर टाप ठोकें।’

सर्लाहीकै राजवीर चौधरी पैसा तिर्न नसकेपछि जेल गए। १ वर्षभन्दा बढीको सजाय काटेर आएपछि फेरि उनीमाथि कलवारले मुद्दा हाले। त्यही चिन्तामा राजवीरको मृत्यु भएको संषर्घ समितिको भनाइ छ। ऋण लिएबापत कारिल धामी र राजाराम महतो जेलमा छन्। जेलमा रहेका कारिल धामीले कलावरसँग दुई लाख ५० हजार ऋण लिएका थिए र मोटरसाइकल पनि किनेका थिए। त्यसबापत उनले १२ लाख, ४० लाख र १० लाखका तीनवटा कागज गराएका छन्।

पीडितका अनुसार कलवारले ऋण लिँदा लिएको भन्दा कैयन् गुणा बढीको कागज गराउँछन्। यही आधार लिएर साहुले कानुनी उपचार पनि खोज्ने गरेको पाइन्छ। ‘अहिले पनि त्यही समस्या देखापरेको हो,’ नेकपा सर्लाही इन्जार्च डाचाराज वाग्लेले भने, ‘यसरी छल्ने पुरानो प्रथाले कानुनमा उनीहरू माथि परे पनि वास्तविकतामा अडेर समाधान खोजौं भनिरहका छौं।’

कलवारले ऋण लिन आउनेलाई सय रुपैयाँको मासिक पाँच रुपैयाँ ब्याज तिर्नुपर्ने बताउँछन्। उनले एक दिन ब्याज तिर्न ढिलाइ गर्दा एक लाखमा एक हजार रुपैयाँ हर्जना तिराउँछन्। हातमुख जोर्न पनि स्थानीय बासिन्दा बाध्य भएर ऋण लिन्छन्। तर मनोमानी तमसुक बनाएर १० गुणासम्म बढी ऋण बनाउँदा पीडित मारमा परेका छन्। ‘हामीलाई सयकडा पाँच भनेको हुन्छ। त्यो त ठीकै छ। महिनैपच्छिे बुझाउँछौं’, पीडित रुकमणि चौधरीले भनिन्, ‘तर, झुक्याएर ऋण धेरै लिँदा हामी घरबारविहीन भएका छौं। अझै ऋण चुक्ता हुन सकेको छैन भन्दै साहुले तनाव दिइरहेको छ।’

उनले कलवारसँग साढे ४ लाख ऋण लिएकी थिइन्। अहिले २४ लाखको तमसुक बनाएको चौधरीले बताइन्। कलवारले चौधरीसँग १२ लाख र उनका पति रामकैलाश चौधरीसँग १२ लाखको कागज गराएका छन्। ऋण खाएबापत चौधरीले साढे २२ हजारका दरले १० महिना र ५० हजारका दरले तीन पटक पैसा तिरिसकेका छन्। उनी अझै साढे ९ लाख रुपैयाँ माग्दै छन्। उनले भनिन्, ‘साढे चार लाख ऋण लिँदा ४ लाख ५ हजार मात्र पैसा दिएका थिए। ४५ हजार सेवा शुल्कमा गयो भनेर उनैले राखेका थिए।’

ऋण दिँदा कलवारले सेवा शुल्क भन्दै मनपरी पैसा असुल्दै आएको नेकपा सर्लाही इन्जार्च वाग्लेले बताए। ‘कलवारले सेवा शुल्क भनेर रक्सी, मासुका लागि लाखमा १० हजारभन्दा बढी असुल्दा रहेछन्’, उनले भने, ‘गरिब तथा सोझालाई हदैसम्मको शोषण गरेको पाइयो।’

आफूहरूले दुई वर्षदेखि जिल्लाबाट न्याय दिलाउन पहल गरेको पनि उनले बताए। सन्फीजस्ता धेरै ऋणीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। तर, जिल्ला प्रशासन कार्यालयलाई वास्तविकता भनेपछि पक्राउचाहिँ नपरेको उनी सुनाउँछन्। ‘जिल्ला प्रशासन कार्यालयमा पनि यसबारे जानकारी छ। त्यसकारण हाम्रो आग्रहमा उनीहरूलाई पक्राउ गरेको छैनन्’, उनले भने, ‘यो मुद्दामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पनि संवेदनशील छन्। तर कलवारका पक्षमा बलियो प्रमाण भएकाले समस्या समाधान गर्न कठिन भएको छ।’

पीडितले शीर्ष नेतालाई भेटे

नेकपाका केही जिल्लास्तरीय नेतासहित ४७ जना पीडितको टोली अहिले काठमाडौंमा छ। उनीहरु न्यायको खोजीमा विभिन्न नेताको घरदैलो धाउन व्यस्त छन्। सोही क्रममा उनीहरू आफ्ना समस्या लिएर अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयसम्म आइपुगे।

पीडितले केही दिन माइतीघर मण्डलामा धर्ना दिए। उनीहरूको धर्नापछि गृहमन्त्री रामबहादुर थापाले भेट्न बोलाए। ‘उहाँले यो समस्यालाई भित्री रूपले बुझ्नुभएको रहेनछ’, नेता वाग्लेले भने, ‘उहाँ यो सुनेपछि छक्क पर्नुभयो। उहाँले यो घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो र समाधान गर्ने आश्वासन दिनुभयो।’

पीडितले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र नेता नारायणकाजी श्रेष्ठसँग पनि भेट गरे। ‘पार्टी अध्यक्षले यो घटना संवेदनशील भएको बताउनुभएको छ। उहाँले यस्ता घटना त दुई सय वर्षअघि हुन्थ्यो भनेर पढ्न पाइन्थ्यो भन्नुभयो’, नेता वाग्लेले भने, ‘अध्यक्षले अब यो मुद्दा तपाईंहरूको मात्रै हैन हाम्रो पनि हो भन्नुभएको छ।’

ऋणदाता श्यामकृष्ण साह कलवारको शनिबार मलंगवास्थित घरमा पुग्दा भोटेताल्चा लगाएको थियो। सम्पर्क गर्न खोज्दा उनको मोबाइल स्विच अफ गरिएको थियो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले यसबारे अदालतमा मुद्दा चलिरहेकाले केही भन्न नमिल्ने बताए। उनले भने, ‘अदालतमा गएको विषयमा हामीले केही भन्न मिल्दैन। अदालतले गर्ने विषयमा प्रशासनले केही गर्न सक्दैन।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।