काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले पुराना राजनीतिक दल र नेताहरूले ३५ वर्षमा केही पनि नगरेको भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पार्ने काम भइरहेको आरोप लगाउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले सामाजिक सञ्जालका अल्गोरिदममार्फत पुराना दल र नेताहरूले गरेका कामबारे गलत धारणा निर्माण गर्ने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग तथा हुलाकी मार्ग निर्माण र विस्तारका निर्णय पुराना राजनीतिक नेतृत्वकै पालामा भएको दाबी गर्नुभयो । ऊर्जा क्षेत्रमा समेत महत्वपूर्ण काम भएको उल्लेख गर्दै उहाँले नेपालमा ऊर्जा क्रान्तिको अवधारणा अघि बढाउने, विद्युत् उत्पादन तथा निर्यातको योजना बनाउने र लोडसेडिङ अन्त्य गर्ने काम आफ्नै पालामा भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “अहिले साम्राज्यवादी अमेरिकी दलालहरुले पुराना पार्टी र नेताहरुले ३५ वर्षमा केही पनि गरेनन्, सबै बिगार्ने काम मात्र गरे भनेर एउटा भाष्य बनाएका छन् । जनताको दिमागमा अल्गोरिदममार्फत यस्तो म्यानिपुलेसन र षड्यन्त्र गरिएको छ कि हामीले एउटै राम्रो काम गरेनौँ जस्तो देखाइएको छ ।”
मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, मदन भण्डारी राजमार्ग र हुलाकी मार्ग निर्माण तथा विस्तारको निर्णय कसले गरेको थियो भन्ने प्रश्न गर्दै उहाँले ती आयोजना पुराना राजनीतिक नेतृत्वकै पहलमा अघि बढेको बताउनुभयो ।
ऊर्जा क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको चर्चा गर्दै दाहालले ऊर्जा नेपालको ठूलो सम्पत्ति भएकाले देशमा ऊर्जा क्रान्ति आवश्यक रहेको बताउनुभयो । विद्युत् उत्पादन बढाउने, विद्युत् निर्यातको अवधारणा अघि बढाउने र लोडसेडिङ अन्त्य गर्ने काम भएको उहाँको दाबी थियो ।
संयोजक दाहालले पुराना तथा स्थापित राजनीतिक दलहरूको योगदानलाई बेवास्ता गर्न नहुने बताउँदै नेता–कार्यकर्तालाई आफूहरूले गरेका कामको प्रचारप्रसार गर्नसमेत निर्देशन दिनुभयो ।









