२ आश्विन २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स भित्रियो वागमतीमा रमा आलेमगर मन्त्री नियुक्त, लिइन् पद तथा गोपनीयताको शपथ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता रसुवा बाढी प्रभावित सडक–पुल पुनर्निर्माणका लागि ‘फास्ट ट्र्याक’ संयन्त्र बनाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक व्यवस्था गर्न सांसद खड्काको माग



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खड्काले विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र काठमाडौं रिफर गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष बितिसक्दा पनि कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध हुन नसकेको बताउनुभयो । अस्पतालमा न्यूरोलोजिस्ट चिकित्सकसमेत नभएको उहाँको भनाइ छ ।

कर्णालीको भौगोलिक विकटता, गरिबी तथा सडक दुर्घटनाका कारण गम्भीर अवस्थाका बिरामीलाई हिमाली क्षेत्रबाट समेत हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याउने गरिएको उल्लेख गर्दै उहाँले न्यूरोसम्बन्धी उपचारको अभावमा बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली प्रादेशिक अस्पतालमा अहिले विशेषज्ञ चिकित्सकहरूको अभाव छ । क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसकेको छ । कार्डियोलोजिस्ट डाक्टर त्यहाँ हुनुहुन्न । न्युरोलोजिष्ट डाक्टरसाब पनि त्यहाँ हुनुहुन्न ।”

सडक दुर्घटनाका कारण टाउकोमा गम्भीर चोट लागेका बिरामी तथा हिमाली क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएका बिरामीलाई समेत न्यूरो विशेषज्ञको उपचार आवश्यक पर्ने उहाँले बताउनुभयो ।

“त्यहाँ टाउकोको उपचार नहुने समस्याका कारण अधिकांश न्यूरो विशेषज्ञले हेर्नुपर्ने बिरामीहरू लुम्बिनी प्रादेशिक अस्पताल र काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको छ,” उहाँले भन्नुभयो ।

सांसद खड्काले कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध गराई कर्णालीवासीलाई आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।