काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले विपद् व्यवस्थापनजस्तो राष्ट्रिय महत्वको विषयमा प्रधानमन्त्रीले स्वयं राजनीतिक दल तथा विज्ञहरूसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बुधवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले विपद्का विषयमा अन्तरपार्टी संवादलाई प्राथमिकता दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्री व्यस्त भए पनि विभिन्न राजनीतिक दललाई बोलाएर परामर्श गर्नुपर्ने र विज्ञहरूसँग छलफल गरी आगामी कार्यदिशा तय गर्नुपर्ने बताउनुभयो । पछिल्लो विपद्को अवस्थालाई हेर्दा सरकार केही पछि परेको जस्तो देखिएको उहाँको टिप्पणी थियो ।
नेपालका अनुसार बैठकमा यसअघि गठन भएको सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिँदै समय–समयमा बैठक आयोजना गर्ने विषयमा छलफल भएको छ । साथै, संसद्भित्र विशेष समिति गठनका लागि सभामुखसमक्ष आग्रह गर्ने विषयमा समेत सहमति बनेको उहाँले जानकारी दिनुभयो ।
सम्भव भएसम्म एक साताभित्र संसदीय विशेष समिति गठन गर्नुपर्ने बताउँदै नेपालले उक्त समितिले जलवायु परिवर्तन तथा पछिल्ला विपद्का घटनाबारे गम्भीर छलफल गर्नुपर्ने बताउनुभयो । समितिले राहत, उद्धार र पुनःस्थापनाको अवस्था तथा सरकारका कामको अनुगमन गर्दै आवश्यक सुझाव दिनुपर्ने उहाँको भनाइ छ ।
नेपालले राहत तथा पुनःस्थापनाको काममा सरकार थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । वास्तविक पीडितको पहिचान, क्षतिको यथार्थ तथ्यांक संकलन, राहत वितरणको अनुगमन तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
सर्वदलीय बैठकको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता पनि औंल्याउँदै नेपालले बैठकमा सहभागी दलसँगै छुटेका अन्य राजनीतिक दललाई समेत समेटेर सर्वदलीय संयन्त्रलाई थप समावेशी बनाउनुपर्ने बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरलाई अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्नेमा समेत जोड दिनुभयो । हिमाली तथा पर्वतीय मुलुकले भोगिरहेका समस्या र जलवायुजन्य क्षति तथा नोक्सानीका लागि न्यायोचित क्षतिपूर्तिको विषयलाई निरन्तर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।
वन तथा हिमाली क्षेत्रको संरक्षण र वातावरणीय सेवामा नेपालको योगदानलाई आधार बनाएर अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगमा पहुँच बढाउनुपर्ने उहाँले बताउनुभयो ।
बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुनुभएको थियो । नेपालले रास्वपा सभापति रवि लामिछानेको पहलमा बैठक बसेको उल्लेख गर्दै अब प्रधानमन्त्रीले पनि राजनीतिक दलहरूसँग प्रत्यक्ष संवाद र परामर्शलाई अघि बढाउनुपर्ने बताउनुभयो ।









