देशको जेठो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले एउटा असहज राजनीतिक मोडमा उभिएको छ । सुरुमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने एक सामान्य मागबाट सुरु भएको विवाद अहिले आएर पार्टी फुटसम्म पुगेको छ ।
विवाद सामान्य मतभेदमा सीमित छैन अहिले त नेतृत्व, महाधिवेशनको मिति र आगामी राजनीतिक दिशालाई लिएर संस्थापन पक्ष र गगन थापा पक्षबीचको दूरी झन् फराकिलो बन्दै गएको देखिन्छ । अवस्था यतिसम्म पुगेको छ कि दुवै पक्ष आ–आफ्नै मितिमा महाधिवेशन बोलाएर अघि बढिरहेका छन् ।
एउटै पार्टीभित्र दुईथरी महाधिवेशनको अभ्यास आफैंमा कांग्रेसको आन्तरिक संकटको गम्भीर संकेत हो । जसका कारण माथिका नेतादेखि तलका कार्यकर्तासम्ममा ठूलो अन्योल सिर्जना भएको छ ।
तर कांग्रेसको विडम्बना के छ भने यो विवाद तत्काल पार्टी फुट्ने तहमा पनि पुगेको छैन र मिलेर अघि बढ्ने अवस्थाको वातावरण पनि कतै देखिँदैन । किनभने हिजो यो वातावरण निर्माण गर्लान् भनेर लागेका पूर्व उपसभापति पूर्णबहादुर खड्का पनि अहिले अब संस्थापन पक्षतिर लहसिएका छन् ।
यसरी कांग्रेस अहिले ‘न फुट्ने, न जुट्ने’ अवस्थाको बन्दी बनेको छ । हुनत कांग्रेसको इतिहास हेर्दा यसप्रकारको आन्तरिक संघर्ष नयाँ र पहिलो पटक पनि होइन । विचार, नेतृत्व र पुस्तान्तरणका प्रश्नमा पार्टीभित्र पटक–पटक तीव्र विवाद भएका छन् ।
तर हरेक संकटपछि कांग्रेसले कुनै न कुनै समझदारी खोज्दै आफूलाई पुनः संगठित गर्दै आएको पनि छ । तर पनि यसो भनिरहँदा अहिलेको चुनौती भने अलि फरक छ । किनभने गगन पक्ष विशेष महाधिवेशन गरेर अघि बढिसकेको छ भने देउवा पक्ष त्यसलाई महाधिवेशन मान्ने पक्षमा छैन ।
नेतृत्वको प्रश्नसँगै पुस्तान्तरण, संगठनको पुनर्संरचना र आगामी निर्वाचनमा पार्टीको भविष्य जोडिएको त छ, तर यसको हेक्का राख्ने पक्षमा दुई समूह छैनन् । मात्र को वैधानिक र को अवैध भन्नेमै विवाद केन्द्रित छ ।
शेरबहादुर देउवा पक्ष आफ्नो राजनीतिक अनुभव, संगठनात्मक पकड र संस्थागत निरन्तरताको पक्षमा देखिन्छ भने गगन थापा पक्ष परिवर्तन, पुस्तान्तरण र नयाँ राजनीतिक ऊर्जाको प्रतिनिधित्व गर्ने दाबी गरिरहेको छ । यी दुई धारबीचको संघर्ष केवल व्यक्तिको प्रतिस्पर्धा होइन कि कांग्रेस कस्तो पार्टी बन्ने भन्ने प्रश्नसँग पनि जोडिएको छ ।
आजका दिनमा हेर्दा एउटै झण्डा छ एउटै नाम । यसरी नै दुवै पक्षले आफ्ना कार्यक्रमहरु अघि बढाइरहेका छन् । त्यसैले कांग्रेस फुटेको छैन, तर जुटेको पनि छैन भन्ने अवस्था विद्यमान छ ।
पछिल्ला दिनहरुमा गगन पक्ष केही लचिलो भएजस्तो देखिन्छ । जस्तो कि पार्टीको १४ औँ महाधिवेशनका केन्द्रीय सदस्यहरुलाई आगामी महाधिवेशनमा समेट्ने संस्थापनले बताएको छ । यसले पहिलेको अडानबाट केही पछि हटेजस्तो गगन देखिए पनि यसले पनि पूर्ण निकास दिएको अवस्था भने छैन ।
उता देउवा पक्ष भने मानौँ कि गत पुसमा सम्पन्न भएको महाधिवेशन भन्दा अघिको अवस्थामा पुग्नुपर्ने अडानमा छन् । यस्तो मान्ने पक्षमा गगन पक्ष छैन । अब गगन पक्षको आगामी महाधिवेशनका लागि वडा अधिवेशन सुरु हुन केही दिनमात्र बाँकी छ । तर यता निकास ननिस्किएपछि सबै कांग्रेस त्यसमा सहभागी हुन्छन् भन्ने देखिँदैन ।
यता हिजोमात्र इतर पक्षका संयोजक भनिएका डा शशांक कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म पार्टीको छुट्टै १५औँ महाधिवेशन गर्ने भएको जानकारी हिजो पत्रकार सम्मेलन गरेरै जनाएका छन् ।
सो पक्षले संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई बेवास्ता गरेको भन्दै आगामी मङ्सिरमा १५औँ महाधिवेशन थाल्ने जनाएको हो ।
उक्त महाधिवेशन तयारी समितिका संयोजक डा कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिए । यता गगन पक्षको वडा तहको अधिवेशनको सुरुआत पनि यसै हप्ता हुने भएकाले अबका दिनमा कसरी अघि बढ्छ भनेर हेर्न मात्र बाँकी रहेको तर अनुमान गर्न नसकिने अवस्था देखिएको छ ।









