६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अत्यधिक दोहनले उपत्यका भासिँदै

अत्यधिक दोहनले उपत्यका भासिँदै
अ+ अ-

काठमाडौं। मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीमा आइतबार बिहान पहिरो र सडक भासिँदा ६ घर उच्च जोखिममा परेका छन् । पानीको समस्या समाधानका लागि जमिनमुनिको पानी निकाल्ने क्रम तीव्र रूपमा बढेपछि उपत्यकाका विभिन्न स्थानमा जमिन भासिन थालेको हो ।

काठमाडौं उपत्यकाभित्र बोरिङका लागि मात्र हजारौं ठाउँमा गहिरो प्वाल पारिएको छ । लाखौंको संख्यामा गहिरा इनार खनिएका छन् । तालका रूपमा रहेको काठमाडौं उपत्यकाको कमलो भूगर्भमा अत्यधिक बोरिङ गर्दा भ्वाङ पर्न थालेको छ । बोरिङका लागि सरकारी निकायले नै बजेट विनियोजन गरिरहेको पाइएको छ । जथाभावी बोरिङ गर्न उक्साउनेमा प्रदेश सरकार अगाडि देखिएको छ । प्रदेश सरकारले बोरिङका लागि खानेपानी समितिहरूलाई बजेट निकासा गरेर नै काम गराइरहेको पाइएको छ । प्रदेश ३ सरकारले बोरिङबाट पानी निकाल्न बजेट विनियोजन गरी काम नै सम्पन्न गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई समेत बेवास्ता गरी प्रदेश सरकारले बजेट वितरण गरी जथाभावी बोरिङ गर्दा उपत्यकाको जमिन भासिने क्रममा रहेको विज्ञहरूले बताएका छन् ।

‘उपत्यकाभित्र इनारको संख्या १ लाख बढी छ । गहिरो बोरिङमध्ये अधिकांश अवैध छन् । वैध भएकालाई पनि जथाभावी अनुमति दिइएको छ,’ उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीले भने, ‘नियमविपरीत ड्रिलिङ गरेको तथ्य काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई जानकारी छ । तर, अवैध रूपमा भएको त्यस्ता कार्य रोक्न बोर्डले कुनै काम गर्न सकिरहेको छैन ।’ गत साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल बोरिङमध्ये २० प्रतिशतले मात्र बोर्डमा दर्ता गरेका छन् ।
मुलुकको महत्वपूर्ण केन्द्रमा समेत बोरिङ गरिएको छ । सरकारी निकाय, उच्चपदस्थ अधिकारी र विदेशी कूटनीतिक नियोगका कार्यालय तथा अधिकारी बसोबास गरिरहेको घर कम्पाउन्ड, हाउजिङ, अर्पाटमेन्टमा दर्ता नगरी बोरिङ सञ्चालित छन् । सिंहदरबारदेखि राजधानीको मुटु सुन्धारास्थित हुलाक कार्यालयभित्र पनि गहिरो बोरिङ छ । यी बोरिङले पानीको सतह घट्दै छ । जसका कारण जमिन भासिँदै गएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारको बजेटबाट काठमाडौं उपत्यकामा सयौं बोरिङ गरिए ।

‘वर्षा याममा पानी जमिनभित्र रिचार्ज हुँदैन । यस्तो अवस्थामा बोरिङले धेरै पानी तान्दा जमिनभित्रको पानीको सतह घट्न जान्छ । बोरिङमा तोकिएको बढी पानी तान्दा जमिनभित्र समेत पानीको संकट पर्न जान्छ,’ वातावरणविद् डा। नरेश रिमालले भने, ‘जभाभावी जमिनमा प्वाल पारेर बोरिङ गर्दा भविष्यमा नकारात्मक असर देखिन थाल्नेछन् । जथाभावी ड्रिल गर्दा जमिन भासिने सम्भावना रहन सक्छ ।’

बोर्डले बोरिङको स्वीकृति दिँदा मासिक कति पानी निकाल्ने भनी मापदण्ड तोकेको छ । तर, तोकिएभन्दा सयौं गुणा बढी पानी निकाल्नेछन् । काठमाडौं उपत्यकामा मात्र व्यावसायिक प्रयोजनका लागि ९२, हाउजिङका लागि ७० र आन्तरिक प्रयोजनका लागि ६५ वटा बढी बोरिङ सञ्चालनको अनुमति लिइएको छ । अनुमति नलिई सञ्चालन गर्नेहरू उत्तिकै छन् । गत वर्ष होटलका लागि ३६, विभिन्न संस्थाका लागि ३१ र अस्पतालका लागि भन्दै १५ वटा बोरिङ सञ्चालनको अनुमति दिइएको छ ।

भारतको दिल्ली र हरियाणा राज्यमा अत्यधिक बोरिङले पानीको सतह तल गई जमिन भासिने गरेको छ । हरियाणा राज्यमा पानीको हाहाकार मच्चिसकेको छ । बोरिङ खन्दा विगतमा केही मिटरभित्रबाट पानी आउने गरेकोमा अहिले सयौं मिटर तल जाँदा पनि पानी आउन छाडेको छ । त्यहाँ जमिन भासिएका घटना आइरहेका छन् । नेपालमा पनि अत्यधिक बोरिङले जमिन भासिने खतरा बढ्न सक्छ । इन्डोनेसियामा पनि जमिनमुनिको पानीको सतह घट्दै जाँदा राजधानी नै जोखिममा परेको अध्ययनले देखाएको छ । इन्डोनेसियाले राजधानी नै सार्नुपर्ने स्थिति रहेको पाइएको छ ।

वार्षिक १३.५ सेन्टिमिटरले भासिँदै

काठमाडौं उपत्यका अस्तव्यस्त छ । धेरै हिसाबले जोखिममा पनि छ । उपत्यकाको जमिन दिन प्रतिदिन धसिँदै गएको एक अध्ययनले देखाएको छ । हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदा मानव बस्तीका लागि समस्या पनि थपिँदै गएको छ । आकाशबाट हेर्दा जति मनमोहक देखिन्छ यो काठमाडौं तर जमिनमा ओर्लिएपछि त्यति नै समस्याले ग्रसित छ । जनसंख्याको बढ्दो चाप र थेगिनसक्नु कंक्रिटको जंगलका कारण काठमाडौं उपत्यका भासिँदै गएको छ । त्रिभुवन विश्वविद्यालय, नास्ट र अमेरिकी संस्था युनाभले संयुक्त रूपमा गरेको पाँचवर्षे अनुसन्धानले काठमाडौं हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले भासिँदै गएको छ । अध्ययन अनुसार पाँच वर्षको अवधिमा काठमाडौं करिब ५० सेन्टिमिटर बढीले भासिएको छ । सबैभन्दा बढी काठमाडौंको छाउनी क्षेत्र भासिएको छ । यो क्षेत्र हरेक वर्ष साढे १३ सेन्टिमिटरका दरले धसिँदै गएको छ । दोस्रो नम्बरमा खुमलटार क्षेत्र पर्छ । यो क्षेत्र प्रतिवर्ष ११ सेन्टिमिटरका दरले भासिँदै छ । अध्ययनका लागि जीपीएस टावर राखिएका सबैजसो क्षेत्रको जमिन भासिँदै गएको पाइएको अनुसन्धानमा खटिएका भूगर्भविद् अनन्त गजुरेल बताउँछन् ।

जमिन भासिँदा पानीको स्रोतमा सबैभन्दा बढी प्रभाव परेको छ । कीर्तिपुरमा २०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो तर २०७१ सालमा ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा २०५८ सालमा पानीको सतह ३० मिटरमुनि थियो भने २०७१ सालमा ४० मिटरमुनि पुगेको देखिएको छ । मूलपानीमा २०५८ सालमा ३१ मिटरमुनि पानीको सतह थियो, २०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ । भूसतहको पानी सुक्दै गएकाले नै जमिन भासिएको हो । यसले भयावह रूप लिनुअघि नै जमिनमुनिको पानीको दोहन रोक्नुपर्ने सरोकारवालाले बताउँदै आएका छन् ।

भूमिगत जलस्रोतको दोहनकै कारण भासिन थालेको जमिन चिरा पर्नुअघि नै सचेत नभए स्थिति भयवाह हुन सक्ने विज्ञहरूको चेतावनी छ । अनुसन्धानले बेलैमा पत्ता लगाएको विषयलाई हेल्चेक्र्याइँ नगर्न र काठमाडौंमा तत्कालै पानीका अन्य स्रोतको जोहो गर्न सरकार तत्पर हुन जरुरी छ ।
काठमाडौंका विभिन्न ठाउँमा पनि ‘सिंकहोल’ बनेको छ । काठमाडौंको चमती, जुन स्वयम्भू, नयाँबजार र शोभा भगवतीको बीचमा पर्छ । उक्त स्थानमा पाँच वर्षअघि भ्वाङ परेको थियो । भ्वाङ पर्नुको मुख्य कारण थियो, जमिनमुनिको पानी अत्यधिक दोहान । करिब ४० फिट गहिरो खाल्डो बन्दा कुनै भयानक दुर्घटना भने हुन पाएको थिएन । काठमाडौंको भूबनोट, जमिनमुनिको पानीको अत्यधिक प्रयोग र ठूल्ठूला भवन बन्दै गर्दा यहाँको जमिन पनि भासिने क्रम बढेको अध्ययनकर्ताले औंल्याएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।