२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी



अ+ अ-

काठमाडौं । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरेको छ ।

सडक विभागको योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खोल्ने कामको परीक्षण सफल भएको छ । तर सडकमा ग्राभेल बिछ्याउने, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) निर्माण गर्ने तथा सक्रिय पहिरो क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम भने अझै बाँकी छ ।

भदौ १० गते आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले नदी कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो ।

कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले प्राविधिक विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरेर तत्काल यातायात सञ्चालन गर्ने निर्णय गरेको न्यौपानेले बताउनुभयो । पहिरोतर्फबाट सडक खन्दै सुरुमा एक लेनको ट्र्याक खोल्ने र त्यसलाई विस्तार गर्दै दुईतर्फी यातायात सञ्चालन गर्ने गरी काम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आइतबार गरिएको परीक्षणका क्रममा कृष्णभीरमा ट्र्याक खोलेर ग्यास बुलेटहरू पार गराउँदै सडकको परीक्षण गरिएको थियो । परीक्षण सफल भए पनि ग्राभेल बिछ्याउने र पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक सञ्चालन रोकिएको विभागले जनाएको छ ।

बाँकी काम पूरा भएपछि असोज १ गतेदेखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेले बताउनुभयो । यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या देखिएमा सडकको अवस्था हेरेर यातायात सञ्चालनसम्बन्धी निर्णय गरिने उहाँको भनाइ छ ।

सक्रिय पहिरो क्षेत्रमा पानी जम्न नदिन फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत निकासको व्यवस्था गरिने विभागले जनाएको छ । बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भागमा क्षति पुगेको विभागको भनाइ छ ।

भोटेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ । विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको अवस्था बुझेर मात्र अघि बढ्न उपमहानिर्देशक न्यौपानेले आग्रह गर्नुभएको छ ।

बाढी तथा वर्षाको अवस्था सामान्य भएपछि पृथ्वी राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार, मर्मत तथा पुनर्निर्माणका दीर्घकालीन काम अघि बढाइने विभागले जनाएको छ ।