धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ ।
सडक निर्माणको कामलाई तिब्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो ।
निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काकाअनुसार करिव १२ दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन गर्न सम्भव भएको हो । का
ठमाडौंबाट मुग्लिङतर्फ पहिलो ग्यास बुलेट पठाइसकिएको र त्यसपछि रोकिएर बसेका हेभी इक्युपमेन्ट तथा अन्य सवारीसाधनसमेत क्रमशः पार गराइएको उहाँले जानकारी दिनुभयो ।
सडक खुलाउन एक्स्काभेटर, बुलडोजर, लोडरलगायतका हेभी इक्युपमेन्ट प्रयोग गरिएको थियो । सडक विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढाइएको खड्काले बताउनु भयो ।
उहाँकाअनुसार अहिले फिल्डमा करिव २२ देखि २५ वटा हेभी इक्युपमेन्ट, ट्रक तथा टिपरसहितका साधन परिचालन भएका छन् । सडक विभाग, कन्सल्टेन्ट र निर्माण कम्पनीका ३० जनाभन्दा बढी प्राविधिकसमेत फिल्डमा खटिएका छन् । तर कृष्णभीरको सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको भने होइन । ट्रायलपछि पुनः सडक बन्द गरेर बाँकी निर्माणको काम अघि बढाइनेछ । सडकको ड्रेन, सब–सर्फेस ड्रेन, ग्राभेलिङ तथा सबग्रेड र सबबेसको काम पूरा गर्नुपर्ने भएकाले तत्कालका लागि नियमित यातायात सञ्चालन नगरिने जनाइएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले पनि अहिलेको आवागमनलाई नियमित यातायात सञ्चालन नभई परीक्षणका रूपमा गरिएको बताउनु भयो । सडक सबग्रेडको तहसम्म तयार भएपछि ग्यास बुलेट पार गर्नसक्ने अवस्था छ कि छैन भनेर परीक्षण गरिएको र त्यसमा ग्यास बुलेट सफलतापूर्वक पार भएको उनले जानकारी दिनुभयो । करिव १५ दिनदेखि रोकिएर बसेका ट्रक, टिपरलगायतका सवारीसाधनलाई समेत यही अवसरमा पार गराइएको अधिकारीले बताउनु भयो । त्यसपछि सडक पुनः बन्द गरेर निर्माणको बाँकी काम अघि बढाइनेछ ।
कृष्णभीरमा अहिले ड्रेन निर्माण, ग्राभेलिङ र केही भागमा कटिङको काम बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । बाँकी काम दुईदेखि तीन दिनभित्र सक्ने लक्ष्य रहेको उहाँले बताउनु भयो ।
निर्माण कम्पनीका खड्काले भने बाँकी काम सम्पन्न गरेपछि असोज १ गतेदेखि कृष्णभीरमा नियमित रूपमा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताउनु भयो । मौसमले साथ दिएमा सडकको सबग्रेड, सबबेस र ड्रेनलगायतका काम पूरा गरेर नियमित आवागमन सञ्चालन गर्ने तयारी छ ।
यसअघि कृष्णभीरमा सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा लामो दूरीका सवारीसाधन तथा ग्यास बुलेट र निर्माण सामग्री बोकेका हेभी सवारीसाधन रोकिएका थिए ।
ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन भएसँगै रोकिएका सवारीसाधनलाई क्रमशः गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल









