२८ भाद्र २०८३, आईतवार
,
Latest
वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राजधानीको बढ्दो सवारी चाप व्यवस्थापनका लागि परम्परागत शैलीभन्दा प्रविधिमा आधारित ट्राफिक प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा आइतबार बोल्दै कार्कीले ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । त्यसका लागि एआई–सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

उनले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क र पार्किङस्थललाई व्यवस्थित बनाउनुपर्ने तथा समग्र ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक प्रणालीमा लैजानुपर्ने बताए ।

महानगरपालिकासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै फुटपाथ तथा पार्किङ व्यवस्थापनसँगै आपत्कालीन उद्धार प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा पनि कार्कीले जोड दिए । नागरिकले अवरोधरहित फुटपाथ प्रयोग गर्न पाउने र सफा सडकमा हिँड्न पाउने अधिकार सुनिश्चित गर्न महानगरले गरिरहेको कामको उनले प्रशंसा गरे ।

राजधानीको बढ्दो जनसङ्ख्या, तीव्र शहरीकरण र सवारीसाधनको चापसँगै फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनमा समेत स्थानीय तह र नेपाल प्रहरीबीच समन्वय आवश्यक रहेको कार्कीले बताए ।

उनले फोहोरमैला उत्पादन हुने स्थानदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले दीर्घकालीन र प्रभावकारी समाधान खोज्नुपर्ने बताए । राजधानीको शहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाको कार्यसम्पादनले समग्र शहरी व्यवस्थापनको अवस्थासमेत प्रतिबिम्बित गर्ने उनको भनाइ थियो ।

स्थानीय तह र नेपाल प्रहरीबीच भौतिक पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले देशभरका ७५३ स्थानीय तहलाई सम्बन्धित मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताए ।

उनका अनुसार स्थानीय तहले आवश्यकताअनुसार प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहकार्य गर्न सक्नेछन् ।

यस्ता सहकार्यले नेपाल प्रहरी र महानगर प्रहरीबीचको समन्वयलाई थप मजबुत बनाउँदै नागरिकलाई प्रदान गरिने सुरक्षा तथा सेवा प्रभावकारी हुने कार्कीले बताए ।

आगामी दिनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीले संयुक्त योजनाका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले ट्राफिक, फुटपाथ र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरे ।