काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित नेकपा (एमाले)को कार्यदल आफ्नो प्रतिवेदनमाथि उत्पन्न विवाद समाधान गर्न आवासीय बैठकमा जुटेको छ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलगायतका विषयको समीक्षा गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुधार तथा आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीय रूपमा बसेर छलफल गरिरहेका छन्।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि काभ्रे पुगेका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ फर्कनेछन्।
कार्यदलले प्रदेशगत रूपमा सुझाव संकलन गरेपछि महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदन र पार्टीका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापाले तयार पारेको फरक प्रतिवेदनबीच मतभेद देखिएपछि विवाद उत्पन्न भएको थियो।
महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहे पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले थप छलफल अघि बढाइएको हो।
गत जेठ १० गते सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। त्यसपछि जेठ २६ गते अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बसेको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव संकलन गर्ने कार्यतालिका तय गरेको थियो।
गत शुक्रबारको बैठकमा दुईवटा फरक प्रतिवेदन प्रस्तुत भएपछि दुवैमा समेटिएका विषयलाई समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालय बैठकमा पेस गर्ने तयारी कार्यदलले गरेको छ।
भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिका कारण एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५, ६ र ७ गते बस्ने तय भएको छ। त्यसअघि नै कार्यदलको प्रतिवेदनलाई अन्तिम रूप दिने प्रयास भइरहेको नेताहरूले बताएका छन्।









